काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने देखिएको छ। महाशाखाका अनुसार अहिले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस र कोशी प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा पनि चट्याङसहित वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना रहेको छ। आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली र पहाडी क्षेत्रमा थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाको अनुमान छ। रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
