काठमाडौं । चीनको तिब्बततर्फबाट आएको ल्हेन्दे खोलाको बाढीका कारण रसुवाको टिमुरे र मैलुङमा कार्यरत १३ जना सशस्त्र प्रहरी कर्मचारी सम्पर्कविहीन भएका छन्।
सशस्त्र प्रहरी बलका अनुसार रसुवागढीस्थित बोर्डर आउट पोस्टमा कार्यरत ९ जना र मैलुङमा खटिएका ४ जना प्रहरी सम्पर्कविहीन छन्। यसअघि टिमुरेमा कार्यरत ४ जना मात्रै सम्पर्कविहीन भएको बताइएको थियो। बाढी भोटेकोशी नदीमा मिसिएपछि टिमुरे र स्याफ्रुबेँसी बजारमा समेत ठूलो क्षति पुगेको छ। बाढीका कारण बीओपी टिमुरेमा समेत पानी पसेको छ। सम्पर्कविहीन सुरक्षाकर्मीको खोजी तथा उद्धारका लागि सुरक्षा निकायले आवश्यक प्रयास अघि बढाएको छ।
