बाढी प्रभावित क्षेत्रमा चिनियाँ टोलीको सक्रियता, उद्धार र राहत कार्य तीव्र

चीन । चीन–नेपाल सीमा नाका केरुङमा पहिरोबाट प्रभावित क्षेत्रमा चिनियाँ उद्धार टोलीले खोज तथा उद्धार कार्यलाई तीव्र बनाएको छ।

दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत केरुङमा पहिरो गएपछि चिनियाँ टोली जोखिमपूर्ण क्षेत्रमा पुगेर उद्धारमा जुटेको हो। शुक्रबार बिहान सिजाङ र छिमेकी सिचुआन प्रान्तका अग्निनियन्त्रकसहित ३० सदस्यीय टोली प्रभावित क्षेत्रतर्फ पैदल गएको छ। टोलीले दुर्गम पहाडी बाटो हुँदै पाँच घण्टाभन्दा बढी यात्रा गरेर घटनास्थल पुग्ने प्रयास गरिरहेको छ। उद्धार टोलीसँग तालिमप्राप्त कुकुर, बेल्चा, गैँती तथा जीवित व्यक्ति पत्ता लगाउने उपकरणलगायत हलुका सामग्री छन्। पहिरोमा तीन जनाको मृत्यु भएको तथा ५५८ जना अझै सम्पर्कविहीन रहेको जनाइएको छ।

आपत्कालीन व्यवस्थापन मन्त्रालयका अनुसार पहिलो चरणमा १४१ जना उद्धारकर्मी बिहीबार बिहानै केरुङ पुगेका थिए। खोजी तथा उद्धारका लागि हेलिकप्टर, ड्रोन र भू–उपग्रह प्रविधिसमेत प्रयोग भइरहेको छ। प्रभावित क्षेत्रमा ठूला उद्धार उपकरण पुर्‍याउन सडक मर्मतको काम पनि अघि बढाइएको छ। साथै, अवरुद्ध सञ्चार तथा विद्युत् संरचना पुनः सञ्चालनका लागि काम भइरहेको जनाइएको छ।

हालसम्म बाढी तथा पहिरो प्रभावित क्षेत्रबाट उद्धार गरिएका ४९९ गाउँले र निर्माण मजदुरलाई सुरक्षित स्थानमा व्यवस्थापन गरिएको छ। त्यस्तै, संस्कृति तथा पर्यटन निकायको समन्वयमा ५५५ जना पर्यटकलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ। हाल कुनै पनि पर्यटक अलपत्र नरहेको जनाइएको छ। नागरिक उड्डयन निकायले समेत उद्धार अभियानमा सहयोग गरिरहेको छ। बिहीबार दिउँसो ३ बजेसम्म हवाई सेवामार्फत ३२४ जना उद्धारकर्मीलाई प्रभावित क्षेत्रमा पुर्‍याइएको र २४ टन उद्धार सामग्री, खाद्यान्न तथा स्वास्थ्य सामग्री ढुवानी गरिएको थियो।यसबाट प्रभावित क्षेत्रमा आपत्कालीन उद्धार, राहत तथा नागरिकको सुरक्षित स्थानान्तरणमा सहयोग पुगेको जनाइएको छ।

Back To Top
Modern Footer Design