काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा दूरसञ्चार सेवा पुनः सञ्चालन गर्न नेपाल टेलिकमले प्राविधिक जनशक्ति र आवश्यक उपकरण परिचालनलाई तीव्र बनाएको छ।
बाढीका कारण तीन जिल्लाका १२० वटा साइट प्रभावित भएकामा हालसम्म ८० वटा साइटबाट सेवा पुनः सञ्चालनमा आएको नेपाल टेलिकमले जनाएको छ। टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार अवरुद्ध मोबाइल सेवा छिटो सञ्चालनमा ल्याउन हेलिकप्टरमार्फत प्राविधिक कर्मचारी तथा आवश्यक उपकरण प्रभावित क्षेत्रमा पठाइएको छ। भदौ ११ गते हेलिकप्टरबाट कर्मचारी परिचालन गरी गोसाइँकुण्ड गाउँपालिका–६ स्थित रसुवा सदरमुकाम धुन्चेको मोबाइल स्टेसन पुनः सञ्चालनमा ल्याइएको उनले बताए।
नेपाल टेलिकमका प्राविधिक टोली अहिले पनि रसुवा, नुवाकोट र धादिङका प्रभावित क्षेत्रमा बाँकी सेवा सञ्चालनका लागि खटिएका छन्। सञ्चालनमा आइसकेका टावरलाई थप भरपर्दो बनाउन आवश्यक प्राविधिक कामसमेत भइरहेको टेलिकमले जनाएको छ। रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ स्थित गोल्जुङ टावर सञ्चालनमा आएपछि स्याफ्रुबेँसी, पार्वतीकुण्ड गाउँपालिका–४ र ५ तथा गोसाइँकुण्ड गाउँपालिका–३ र ५ का केही क्षेत्रमा मोबाइल सेवा पुनः सञ्चालन भएको छ। स्याफ्रुबेँसी–टिमुरे सडकखण्डका केही भागमा पनि दूरसञ्चार सेवा फर्किएको छ।
त्यस्तै, नुवाकोटको सूर्यगढी गाउँपालिका–३ स्थित गेर्खु मोबाइल टावर सञ्चालनमा आएपछि विदुर नगरपालिका–१० र ११ तथा सूर्यगढी गाउँपालिका–४ का केही क्षेत्रमा सेवा उपलब्ध भएको टेलिकमले जनाएको छ। विदुर नगरपालिका–८ स्थित तुप्चे टावर र गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमाथिको डाँडामा रहेको टेलिकम टावर सञ्चालनका लागि हेलिकप्टरमार्फत जेनेरेटर, पेट्रोल तथा प्राविधिक कर्मचारी पठाउने काम भइरहेको छ।
बाढीपछि भदौ १० गतेदेखि नै नेपाल टेलिकमका प्राविधिक कर्मचारी रसुवाका न्यौपानेचौर, राम्चे, गोल्जुङ र धुन्चे स्टेसनमा निरन्तर खटिएका छन्। उनीहरूले अवरुद्ध सेवा पुनः सञ्चालनसँगै सञ्चालनमा रहेका सेवाको निरन्तरताका लागि आवश्यक प्राविधिक काम गरिरहेका छन्। विपद्को समयमा नागरिकको सञ्चार सुविधा सहज बनाउन सेवा निरन्तरता, पूर्वसूचना तथा सचेतनासहित आवश्यक प्राविधिक कामलाई उच्च प्राथमिकता दिइएको टेलिकमले जनाएको छ। बाँकी प्रभावित साइटहरूमा पनि सेवा यथाशीघ्र सञ्चालनमा ल्याउन जनशक्ति, उपकरण र स्रोतसाधन परिचालन भइरहेको कम्पनीले जनाएको छ।
