काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको भाउमा भने सामान्य गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सोमबार पनि सुनको मूल्य यही कायम थियो। महासंघका अनुसार १० ग्राम छापावाल सुनको मूल्य २ लाख ४९ हजार ९१५ रुपैयाँ तोकिएको छ।
यता, चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा घटेको छ। सोमबार प्रतितोला ४ हजार ४३० रुपैयाँ रहेको चाँदी मंगलबार १५ रुपैयाँले घटेर ४ हजार ४१५ रुपैयाँमा झरेको हो। त्यस्तै, १० ग्राम चाँदीको मूल्य मंगलबार ३ हजार ७८५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ। यससँगै मंगलबार बजारमा सुनको मूल्य स्थिर रहँदा चाँदी भने केही सस्तिएको छ।
