गोप्य सूचना चुहाउनेलाई उन्मुक्ति हुँदैन : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राज्यले जिम्मा दिएको गोप्य तथा संवेदनशील सूचना अनधिकृत रूपमा बाहिर पुर्‍याउने जोसुकैलाई पनि कानुनी दायरामा ल्याइने चेतावनी दिएका छन्।

अवकाशको तयारीमा रहेका सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग भेट गरेको विषयमा निलम्बन गरी छानबिन अघि बढाइएपछि गृहमन्त्री गुरुङले यस्तो धारणा सार्वजनिक गरेका हुन्। असोज ११ गते पूर्वप्रधानन्यायाधीश जबरा प्रहरी नियन्त्रणमा टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा रहेका बेला एआईजी दाहालले उनलाई भेटेको आरोप लागेको थियो। जबरासँग दाहालको पारिवारिक नाता रहेको बताइएको छ।

सोही घटनापछि गृह मन्त्रालयले गोप्य सूचना चुहावटको आरोपमा दाहाललाई सोमबार साँझ निलम्बन गरेको थियो। घटनाको छानबिनका लागि समितिसमेत गठन गरिएको छ। गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत राज्यले सुम्पिएको गोपनीयताको दुरुपयोग गरी देश र संगठनप्रति विश्वासघात गर्ने कुनै पनि व्यक्तिले उन्मुक्ति नपाउने बताएका छन्। त्यस्ता व्यक्तिलाई कानुनअनुसार कारबाहीको दायरामा ल्याइने उनको भनाइ छ।

गुरुङले गृह मन्त्रालय तथा मातहतका निकायमा जिम्मेवारीमा रहेका केही पदाधिकारी र कर्मचारीले आफ्नो पदीय मर्यादा र जिम्मेवारी बिर्सिएर गोप्य तथा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायसम्म पुर्‍याउने प्रवृत्तिलाई आफूले लामो समयदेखि नियालिरहेको पनि बताएका छन्। थुना वा कारागारमा रहेका व्यक्तिसँग पारिवारिक भेटघाटका विषयमा सरकारले स्पष्ट कार्यविधि नबनाएको अवस्थामा एआईजी दाहालले जबरासँग गरेको भनिएको भेट र त्यससँग जोडिएको सूचना चुहावटबारे छानबिन अघि बढाइएको हो। घटनाबारे गठित छानबिन समितिको निष्कर्षपछि एआईजी दाहालमाथिको आरोप र उनको भूमिकाबारे थप स्पष्ट हुने अपेक्षा गरिएको छ।

Back To Top
Modern Footer Design