सामुदायिक विद्यालयमध्ये ८५.४ प्रतिशतमा पुग्यो इन्टरनेट सुविधा

काठमाडौं । नेपालका सामुदायिक विद्यालयमा सूचना प्रविधिको पहुँच विस्तार हुँदै गएको देखिएको छ। शिक्षा मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति प्रतिवेदनअनुसार देशभरका ८५.४ प्रतिशत सामुदायिक विद्यालयमा इन्टरनेट सुविधा पुगेको छ।

प्रतिवेदनले विद्यालय शिक्षामा प्रविधिको प्रयोग र पहुँच क्रमशः बढ्दै गएको देखाएको हो। इन्टरनेट सुविधासँगै विद्यालयमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) प्रयोगका लागि आवश्यक पूर्वाधार विस्तारमा समेत प्रगति भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल २९.६ प्रतिशत सामुदायिक विद्यालयमा आईटी/आईसीटी ल्याब स्थापना तथा विस्तार गरिएको छ। यसले विद्यालयमा डिजिटल सिकाइको वातावरण निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

त्यस्तै, देशभरका सामुदायिक विद्यालयमध्ये ६९.६ प्रतिशतमा विद्युत्को पहुँच पुगेको प्रतिवेदनमा उल्लेख छ। नियमित विद्युत् आपूर्ति नपुगेका स्थानमा वैकल्पिक स्रोतको प्रयोगबाट समेत विद्यालयमा विद्युत् सुविधा विस्तार गरिएको मन्त्रालयले जनाएको छ। विद्यालयमा इन्टरनेट, आईसीटी ल्याब र विद्युत् सुविधाको विस्तारसँगै शिक्षण सिकाइ प्रक्रियालाई थप प्रविधिमैत्री बनाउने आधार तयार हुँदै गएको मन्त्रालयको प्रतिवेदनले देखाएको छ।

Back To Top
Modern Footer Design