कांग्रेस उपसभापतिमा समावेशी समूहबाट विनोद चौधरीको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उद्यमी विनोद चौधरीले उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।

चौधरीले समावेशी समूहअन्तर्गत उपसभापति पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन्। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मंगलबार उम्मेदवारी दर्ताको प्रक्रिया चलिरहेको छ। महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति चयन हुँदै गर्दा विभिन्न पदमा आकांक्षीहरूले उम्मेदवारी दर्ता गराउने क्रम जारी छ। यही क्रममा चौधरीले पनि उपसभापति पदमा आफ्नो दाबी अघि सारेका हुन्।

कांग्रेसको १५औँ महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन हुनेछ। यसका लागि निर्वाचन समितिले काठमाडौंस्थित राष्ट्रिय सभागृहमा निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण तथा दर्ताको काम अघि बढाएको छ। महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधिहरू नयाँ नेतृत्व चयनको प्रक्रियामा सहभागी हुँदैछन्। कुल ७ हजार १ सय १४ महाधिवेशन प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयन गर्नेछन्।

उम्मेदवारी दर्ता सुरु भएसँगै राष्ट्रिय सभागृह परिसरमा उम्मेदवार तथा महाधिवेशन प्रतिनिधिहरूको चहलपहल बढेको छ। विभिन्न पदका आकांक्षीहरू आफ्नो उम्मेदवारी दर्ता गराउन निर्वाचन कार्यालय पुगिरहेका छन्। यसै क्रममा चौधरीको समावेशी समूहबाट उपसभापति पदमा परेको उम्मेदवारीले कांग्रेसको १५औँ महाधिवेशनमा पदाधिकारीतर्फको प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।

Back To Top
Modern Footer Design