कांग्रेस वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्माले उम्मेदवारी दर्ता गराएका छन्।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया चलिरहेका बेला शर्माले वरिष्ठ उपसभापति पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन्। शर्माको उम्मेदवारी भने वारेसमार्फत दर्ता गरिएको हो। पुष्पराज पौडेलले शर्माको तर्फबाट निर्वाचन कार्यालय पुगेर वरिष्ठ उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्।

कांग्रेसको विधानमा पहिलोपटक वरिष्ठ उपसभापति पदको व्यवस्था गरिएको हो। यससँगै १५औँ महाधिवेशनबाट चयन हुने पार्टीको नयाँ केन्द्रीय कार्यसमितिमा वरिष्ठ उपसभापति पनि रहनेछन्। यसअघि कांग्रेसको विशेष महाधिवेशनबाट शर्मा उपसभापति पदमा निर्वाचित भएका थिए। विशेष महाधिवेशनपछि उपसभापतिको जिम्मेवारी सम्हाल्दै आएका शर्माले अहिले नयाँ संरचनाअनुसार वरिष्ठ उपसभापति पदमा उम्मेदवारी दिएका हुन्। कांग्रेसको १५औँ महाधिवेशनका लागि मंगलबार विभिन्न पदमा उम्मेदवारी दर्ता भइरहेको छ। सभापति, उपसभापति, महामन्त्री तथा अन्य पदमा आकांक्षीहरूले उम्मेदवारी दर्ता गराउँदै गर्दा पार्टीको नयाँ नेतृत्व चयनका लागि प्रतिस्पर्धा पनि तीव्र बनेको छ।

Back To Top
Modern Footer Design