पोखरा । नेपालका तीन प्रमुख पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई एउटै पर्यटन सञ्जालमा जोडेर प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘सिल्भर ट्रयाङ्गल’ अवधारणालाई अघि बढाइएको छ।
पर्यटन विकास, प्रचारप्रसार र आपसी सहकार्यलाई प्रभावकारी बनाउने लक्ष्यका साथ तीनवटै स्थानीय तहले यससम्बन्धी योजना कार्यान्वयनमा सक्रियता देखाएका छन्। पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच भएको समझदारीलाई कार्यान्वयन गर्ने क्रममा सोमबार भरतपुरमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा जनप्रतिनिधि, सरकारी अधिकारी, पर्यटन व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिले तीनै क्षेत्रको पर्यटन विकासका लागि साझा योजना र सहकार्य आवश्यक रहेको धारणा राखेका थिए। कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले पोखरालाई साहसिक पर्यटन, भरतपुरलाई प्रकृति र लुम्बिनीलाई संस्कृतिसँग जोडेर प्रवर्द्धन गर्नुपर्ने बताए। उनले पर्यटन पूर्वाधारको विकाससँगै सरसफाइ र वातावरण संरक्षणलाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिए।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पर्यटनमार्फत तीनै सहरको आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यले ‘सिल्भर ट्रयाङ्गल’ अवधारणा अघि सारिएको बताए। गत जेठमा भएको समझदारीअनुसार यस कार्यक्रमलाई महानगरको नीति, योजना तथा कार्यक्रममा समावेश गरिएको उनको भनाइ छ। उनले व्यवसायीबीचको सहकार्य र सरकारहरूबीचको समन्वयलाई व्यवहारमा उतार्दै पर्यटकलाई पोखरा, चितवन र लुम्बिनी एकै यात्रामा घुम्न सक्ने वातावरण बनाउनुपर्ने बताए। त्यसका लागि यातायात सम्पर्क, पर्यटकीय सेवा र आवश्यक पूर्वाधार विस्तारमा जोड दिनुपर्ने उनको धारणा थियो।
लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक प्रमुख कल्पना हरिजनले पर्यटन विकासमा निजी क्षेत्रको लगानी प्रोत्साहित गर्नुपर्ने बताइन्। साथै, पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालनका लागि सामूहिक पहल आवश्यक रहेको उनले उल्लेख गरिन्। पोखरा भ्रमण वर्ष २०२५–२०२६ का संयोजक गोपी भट्टराईले सरकार र निजी क्षेत्रबीच सहकार्य बढाएर पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताए। प्राकृतिक विपद्का कारण पर्यटन क्षेत्रमा परेको असर न्यूनीकरण गर्दै नेपाल सुरक्षित र खुला पर्यटकीय गन्तव्य रहेको सन्देश अन्तर्राष्ट्रिय समुदायसम्म पुर्याउनुपर्ने उनको भनाइ थियो।
त्यस्तै, पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले पर्यटकको बसाइ अवधि लम्ब्याउने खालका कार्यक्रम ल्याउनुपर्ने बताए। चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले तीनै गन्तव्यबीच व्यावसायिक सम्बन्ध विस्तार र संयुक्त प्रचारप्रसारलाई प्राथमिकता दिनुपर्ने धारणा राखे। नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले डिजिटल माध्यमबाट पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए। भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले तीनवटै गन्तव्यको पहिचानलाई बलियो बनाउन साझेदारी र सहकार्य आवश्यक रहेको बताए। उनले निकट भविष्यमा ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन मेला अर्थात् ट्राभल मार्ट आयोजना गर्ने योजना पनि सुनाए।
गत जेठ २६ गते भएको समझदारीअनुसार तीनवटै स्थानीय तहले प्रत्येक वर्ष पालैपालो पर्यटन मेला आयोजना गर्ने, व्यवसायी तथा सरकारी निकायबीच नियमित बैठक गर्ने र संयुक्त रूपमा पर्यटन बजार विस्तारका कार्यक्रम सञ्चालन गर्ने सहमति गरेका छन्। यसका अतिरिक्त संयुक्त ब्रोसर, भिडियो तथा डिजिटल प्रचार सामग्री तयार गरी वितरण गर्ने, डिजिटल सूचना बोर्ड स्थापना गर्ने र पर्यटन व्यवसायी, होटल, ट्राभल एजेन्सी तथा स्थानीय समुदायबीच सञ्जाल विस्तार गर्ने योजना पनि अघि सारिएको छ।
तीनै गन्तव्यलाई समेटेर एकीकृत पर्यटकीय प्याकेज विकास गर्ने तथा सांस्कृतिक, शैक्षिक र पर्यटन आदानप्रदानका कार्यक्रम सञ्चालन गर्ने समझदारीसमेत भएको छ। यसका लागि स्थानीयदेखि संघीय सरकार, नेपाल पर्यटन बोर्ड र विकास साझेदार संस्थासँग समन्वय गरिने जनाइएको छ। ‘सिल्भर ट्रयाङ्गल’ अवधारणाले पोखराको साहसिक पर्यटन, चितवनको प्राकृतिक सम्पदा र लुम्बिनीको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई एकीकृत गर्दै आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्ने अपेक्षा गरिएको छ।
