काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम जारी छ। पछिल्लो तीन दिनमा सुनको भाउ प्रतितोला ७ हजार रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेको हो। यससँगै सुनको मूल्य प्रतितोला २ लाख ८९ हजार ५ सय रुपैयाँ कायम भएको छ। मंगलबार सुन प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। यसअघि आइतबार सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँ पुगेको थियो। त्यसयता लगातार मूल्य घट्दा तीन दिनको अवधिमा सुन प्रतितोला ७ हजार रुपैयाँ सस्तिएको हो। यता, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बुधबार चाँदी प्रतितोला १ सय रुपैयाँले घटेर ४ हजार २५५ रुपैयाँमा झरेको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो भने आइतबार यसको मूल्य ४ हजार ४४० रुपैयाँ रहेको थियो।
