रास्वपाको महाधिवेशनमा करिब ३ हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनको भरतपुरमा हुँदैछ। महाधिवेशनका लागि पार्टीले विभिन्न १९ वटा आधार र संरचनामार्फत प्रतिनिधि छनोट गर्ने व्यवस्था गरेको छ।

रास्वपाले तयार पारेको कार्यविधिअनुसार केन्द्रीय समिति, संसदीय दल, विभिन्न आयोग, विभाग, प्रदेश तथा जिल्ला संरचनाका पदाधिकारी र सदस्यहरू स्वतः वा निर्धारित प्रक्रियामार्फत महाधिवेशन प्रतिनिधि बन्नेछन्। हाल पार्टीका ८६ केन्द्रीय सदस्य र प्रतिनिधिसभामा रहेका सांसदहरू महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी हुनेछन्। त्यस्तै अनुशासन, निर्वाचन र लेखा आयोगका पदाधिकारी तथा सदस्यहरूलाई पनि प्रतिनिधित्वको अवसर दिइएको छ।

पार्टीका ३८ वटा विभागबाट प्रत्येक विभागका ११ जनाका दरले ४ सयभन्दा बढी प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन्। यस्तै, प्रदेश समितिका सदस्य, प्रदेशस्तरीय आयोगका प्रतिनिधि तथा सम्पर्क विभागका प्रतिनिधिहरूलाई समेत सहभागिता सुनिश्चित गरिएको छ। जिल्ला समितिहरूबाट सभापतिसहित पाँच जनासम्म प्रतिनिधि चयन गरिने व्यवस्था छ भने अधिवेशन सम्पन्न हुन नसकेका जिल्लाका तदर्थ समितिबाट पनि प्रतिनिधित्व गराइने भएको छ। प्रवास नेपाली सम्पर्क विभागमार्फत विभिन्न देशबाट प्रतिनिधि छनोट गर्ने व्यवस्था समेत गरिएको छ।

संघीय निर्वाचन क्षेत्र, स्थानीय तहका संरचना तथा संघीय नेतृत्व मञ्चबाट समेत प्रतिनिधि चयन हुनेछन्। साथै, २०७९ को निर्वाचनमा उम्मेदवार बनेका व्यक्तिहरूलाई पनि महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी गराउने व्यवस्था गरिएको छ। पार्टीको केन्द्रीय समितिलाई थप २०० जना प्रतिनिधि मनोनयन गर्ने अधिकार दिइएको छ। रास्वपाका निर्वाचन आयोग प्रमुख भुवन केसीका अनुसार महाधिवेशनमा करिब ३ हजार प्रतिनिधिको सहभागिता रहने अनुमान गरिएको छ।

Back To Top
Modern Footer Design