विपद् व्यवस्थापनमा सरकारले तयारी पूरा गरेको गृहमन्त्री गुरुङको दाबी

काठमाडौँ। गृहमन्त्री सुदन गुरुङले मनसुनजन्य विपद् सामना गर्न सरकारले आवश्यक सम्पूर्ण पूर्वतयारी पूरा गरेको बताएका छन्।

बिहीबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विगतका अनुभवका आधारमा यस वर्ष विपद् व्यवस्थापनलाई अझ प्रभावकारी बनाइएको उल्लेख गरे। उनका अनुसार सुरक्षा निकायहरूलाई आवश्यक निर्देशन दिइसकिएको छ भने विभिन्न उद्धार टोलीहरू परिचालनमा छन्। आवश्यकता परे हेलिकप्टरसहितका स्रोतसाधन प्रयोग गरी तत्काल उद्धार गर्ने तयारी गरिएको उनले जानकारी दिए। गृहमन्त्री गुरुङले यसपटक मन्त्रीस्तरको निरीक्षणभन्दा पनि नागरिकको सुरक्षा र उद्धारलाई प्राथमिकतामा राखिएको बताए। उनले विपद् व्यवस्थापनमा सरकार पूर्ण रूपमा संवेदनशील रहेको स्पष्ट पारे।

उनले गृहमन्त्रालयलाई प्रत्येक नागरिक, विशेषगरी महिलाहरूका लागि सुरक्षित र भरोसायोग्य संस्थाका रूपमा स्थापित गर्न चाहेको बताए। “गृहमन्त्रालय हरेक चेलीको लागि माइती हो” भन्ने भावनासहित काम गर्नुपर्ने उनको भनाइ थियो। अपराध नियन्त्रणका विषयमा उच्च प्रहरी अधिकारीहरूसँग नियमित छलफल भइरहेको बताउँदै उनले कानून कार्यान्वयनमा कुनै पनि राजनीतिक पक्षपात नहुने स्पष्ट पारे। गलत कार्य गर्ने जोसुकै भए पनि कानूनी दायरामा ल्याइने उनको भनाइ थियो। गृहमन्त्री गुरुङले सुरक्षा निकायको कामको मूल्यांकन कार्यसम्पादनका आधारमा गरिने उल्लेख गर्दै क्षमता र इमान्दारिताका आधारमा मात्र बढुवा हुने व्यवस्था लागू गरिने जानकारी दिए। उनले राजनीतिक दबाब र पहुँचका आधारमा हुने बढुवा अभ्यास अन्त्य गरिने पनि स्पष्ट पारे।

Back To Top
Modern Footer Design