काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि प्रतितोला ३ लाख रुपैयाँभन्दा माथि पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ निर्धारण गरेको छ ।
अघिल्लो कारोबार दिनको तुलनामा सुनको भाउ प्रतितोला ४ हजार ८ सय रुपैयाँले बढेको हो । अघिल्लो दिन सुन प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला चार कारोबार दिनमा मात्रै सुनको मूल्य प्रतितोला १७ हजार ९ सय रुपैयाँले उकालो लागेको छ । गत मंगलबार सुनको भाउ प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँ रहेको थियो । यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आइतबार चाँदी प्रतितोला ६५ रुपैयाँले बढेर ४ हजार ६ सय ४५ रुपैयाँ पुगेको छ । अघिल्लो कारोबार दिन चाँदी प्रतितोला ४ हजार ५ सय ८० रुपैयाँमा कारोबार भएको थियो । गत मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ३ सय ८० रुपैयाँ रहेको थियो ।
