आज देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज विभिन्न प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमान गरिएको छ।

भारी वर्षाका कारण बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम बढ्नसक्ने भन्दै सम्बन्धित क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानको आसपासमा रहेको छ। जसका कारण देशका अधिकांश भूभागमा बदलीसहित वर्षाको अवस्था रहने अनुमान गरिएको हो। हाल कोशी र लुम्बिनी प्रदेशका अधिकांश स्थान तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बादल लागेको छ। मधेस प्रदेशसहित बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने आंशिक बदली रहेको छ। यसैबीच कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। पहाडी क्षेत्रमा धेरै स्थानमा मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्र, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभाग तथा लुम्बिनीका पहाडी र तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। आज राति पनि देशभर सामान्यतया बदली रहने अनुमान छ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। पहाडी क्षेत्रका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ।

मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा पनि केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्र, कर्णालीको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रमा केही स्थानमा भारी वर्षा र एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव तथा भूक्षयको जोखिम बढ्नसक्ने भएकाले सम्भावित जोखिमयुक्त क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले यात्रा तथा अन्य गतिविधिमा सतर्कता अपनाउन अनुरोध गरिएको छ।

Back To Top
Modern Footer Design