प्रतिनिधिसभाको बैठक आज : चार विधेयक प्रस्तुत हुने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। संघीय संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्नेछ। बैठकमा विभिन्न विधेयक प्रस्तुत गर्नुका साथै मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ।

आजको बैठकमा परराष्ट्र मन्त्रालय तथा युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछन्। त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन्। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यसैगरी प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गौतमले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाका शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछिन्। त्यस्तै, प्रधानमन्त्री शाहकै तर्फबाट मन्त्री गौतमले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ पारित गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

चार संसदीय समितिको बैठक पनि बस्दै

प्रतिनिधिसभाको बैठकसँगै आज विभिन्न चारवटा संसदीय समितिको बैठकसमेत बस्दैछ। संघीय संसद् सचिवालयका अनुसार पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति तथा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्नेछ। पूर्वाधार विकास समितिको बैठक बिहान १० बजे बस्नेछ। बैठकमा राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमितिले तयार पारेको प्रतिवेदनमाथि छलफल हुनेछ।शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ९ बजेका लागि तय गरिएको छ। उक्त बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ सम्बन्धमा छलफल गरिनेछ। त्यसैगरी, बिहान ११ः३० बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय सदाचार नीति, २०८३’ को कार्यान्वयनका विषयमा छलफल हुने कार्यसूची रहेको छ। संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भने समितिको बैठक सञ्चालन कार्यविधिसम्बन्धी विषयमा छलफल हुने बताइएको छ।

Back To Top
Modern Footer Design