काठमाडौं । नेपालमा अहिले पनि मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थान आसपास रहेको छ।
हाल हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहेको छ। मधेश प्रदेश र कोशी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली देखिएको छ भने गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी र मधेश प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा भने आंशिक बदली रहने अनुमान गरिएको छ।
दिउँसो हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्ने सम्भावना रहेको छ। यस्तै, मधेश तथा कोशी र बागमती प्रदेशका तराईका केही स्थानमा तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। आज राति देशभर सामान्यतया बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ। त्यसैगरी, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थान तथा मधेश प्रदेशका एक–दुई स्थानमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
