काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच भेटवार्ता भएको छ।
बिहीबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको भेटमा आङ्देम्बेको चीन भ्रमण, गैरआवासीय नेपाली संघ (एनआरएनए)को एघारौँ एसिया क्षेत्रीय सम्मेलन तथा नेपाल–चीन सम्बन्धका विषयमा छलफल भएको हो। आङ्देम्बे शुक्रबार चीन भ्रमणमा जाने तयारीमा छन्। ग्वाङ्झाउमा साउन ३० र ३१ गते हुने एनआरएनएको एसिया क्षेत्रीय सम्मेलनमा सहभागी हुने उनको कार्यक्रम छ।
भेटमा आङ्देम्बेले आफ्नो चीन भ्रमणलाई सम्मेलनमा सहभागितामा मात्र सीमित नराखी चिनियाँ विकास तथा शासन अभ्यास र दुई देशका संसद् तथा राजनीतिक दलबीचको सम्बन्धबारे बुझ्ने अवसरका रूपमा लिएको बताएका थिए। उनले नेपाल–चीन सम्बन्धलाई सरकार–सरकारबीचको सम्बन्धमा मात्र सीमित नराखी जनस्तरसम्म विस्तार गर्नुपर्ने धारणा राखेका थिए। जवाफमा राजदूत माओमिङले नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ र विस्तार गर्नुपर्नेमा जोड दिएका थिए।
