स्कुटरको डिकीबाट रकम चोरी गर्ने पक्राउ

काठमाडौँ । पार्किङ गरेर राखिएका स्कुटरको डिकी खोलेर नगद चोरी गर्दै आएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको मिक्लाजुङ गाउँपालिका घर भएका ५४ वर्षीय सोबित कार्की रहेका छन्।

प्रहरीका अनुसार कार्की काठमाडौँ आएपछि पार्किङमा राखिएका स्कुटरको डिकीमा साँचो लगाएर खोल्ने र भित्र रहेको नगद तथा सामान चोरी गर्ने गर्थे। चोरीका लागि उनले विभिन्न कम्पनीका स्कुटरका साँचो साथमा बोकेर हिँड्ने गरेको अनुसन्धानबाट खुलेको छ। भदौ २ गते काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुबाट पक्राउ परेका कार्कीको साथबाट प्रहरीले २१ थान स्कुटरका साँचो बरामद गरेको छ। ती साँचो चोरीका लागि प्रयोग हुने गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

अनुसन्धानका क्रममा गत चैत ३० गते गोङ्गबुमा पार्किङ गरिएको स्कुटरबाट उनले ४ लाख ९६ हजार रुपैयाँ चोरी गरेको खुलेको छ। चोरी गरेपछि उनी आफ्नो गाउँ फर्किने र रकम सकिएपछि पुनः काठमाडौँ आएर चोरी गर्ने गरेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार कार्कीले हालसम्म काठमाडौँ उपत्यकाका विभिन्न ७ स्थानबाट ७ हजारदेखि ५ लाख रुपैयाँसम्म नगद चोरी गरेको पाइएको छ। जावलाखेल, कुमारीपाटी, नख्खु र गोङ्गबु लगायतका क्षेत्रमा उनले स्कुटरबाट रकम चोरी गरेको अनुसन्धानबाट खुलेको छ। सामाखुसीमा पनि उनले मास्क लगाएर स्कुटर नजिक पुग्दै फोनमा कुरा गरेको जस्तो गरी डिकी खोल्ने प्रयास गरेको र डिकी खुलेपछि त्यहाँ रहेको ३ लाख रुपैयाँ लिएर फरार भएको दृश्य सीसीटिभीमा देखिएको प्रहरीले जनाएको छ।

कार्कीविरुद्ध हालसम्म चार जना पीडितले जाहेरी दिएका छन्। प्रहरी अनुसन्धानले पछिल्लो पाँच महिनामा उनले विभिन्न स्थानमा पार्किङ गरिएका स्कुटरबाट करिब १२ लाख रुपैयाँ चोरी गरेको देखाएको छ। चोरी गरेपछि राति गौशालास्थित एक होटलमा बस्ने गरेका कार्कीले चोरीको रकम डस्बिनमा लुकाएर राखेकोसमेत भेटिएको छ। प्रहरीले होटलको कोठाबाट १ लाख ३३ हजार रुपैयाँ बरामद गरेको जनाएको छ। यसअघि पनि कार्की २०७६ सालमा चोरीको कसुरमा जेल परेको प्रहरीको भनाइ छ। पछिल्लो पटक गोङ्गबुमा पार्किङ गरिएको स्कुटरबाट ८४ हजार रुपैयाँ चोरी गरेपछि प्रहरीले उनको खोजी तीव्र बनाएको थियो। हाल उनीविरुद्ध प्रहरी वृत्त महाराजगन्जले अदालतबाट म्याद लिएर थप अनुसन्धान गरिरहेको छ।

Back To Top
Modern Footer Design