वर्षासँगै देशका विभिन्न सडकखण्ड प्रभावित

काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लामा पहिरो तथा बाढीका कारण सडक अवरुद्ध भएका छन्।

केही जोखिमयुक्त सडकखण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा समेत रोक लगाइएको प्रहरीले जनाएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार शनिबार बिहान ५ बजेसम्मको विवरणमा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट, रोल्पा, पाल्पा र मकवानपुरका विभिन्न सडकखण्ड प्रभावित भएका छन्। काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकमा बाढीको जोखिमलाई मध्यनजर गर्दै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने यातायात सञ्चालन गर्न दिइएको छ।

त्यस्तै, मकवानपुरको कान्ति लोकपथमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन चलाउन रोक लगाइएको छ। नुवाकोटको टोखा–छहरे सडकखण्डमा पनि अत्यावश्यक सेवाका सवारीबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधनलाई राति १० बजेदेखि बिहान ५ बजेसम्म आवागमनमा रोक लगाइएको छ। इलाम नगरपालिका–९ राजदुवालीमा हिलो जम्दा मेची राजमार्ग पूर्ण रूपमा बन्द भएको छ। उक्त स्थानमा वैकल्पिक सडक प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीमा पहिरो खस्नुका साथै लिपिङ क्षेत्रमा सडक भासिएपछि अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले सडक कटान गरेपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड बन्द भएको छ। त्यस्तै, गोसाइँकुण्ड गाउँपालिका–२ स्याउपार्किङमा पहिरो खसेपछि पासाङल्हामु सडक पनि अवरुद्ध भएको छ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलामा पहिरो खस्दा भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक पूर्ण रूपमा बन्द भएको छ। लमजुङको बेँसीसहर–मनाङ सडकअन्तर्गत मस्र्याङ्दी गाउँपालिका–४ रामबजारमा पहिरो खसेपछि सडक आवागमन प्रभावित भएको छ। यसैगरी, रोल्पाको माडी गाउँपालिका–६ झकलीमा रुखसहित पहिरो खस्दा घोराही–थवाङ–रुकुम सहिदमार्ग अवरुद्ध भएको छ। पाल्पाको तिनाउ गाउँपालिका–३ सिद्धबाबा सुरुङमार्गको पाल्पातर्फको प्रवेशबिन्दु नजिक पहिरो खसेपछि सिद्धार्थ राजमार्ग समेत पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ। वर्षाका कारण पहिरो तथा बाढीको जोखिम अझै कायम रहेकाले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र आवश्यक परे वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ।

Back To Top
Modern Footer Design