गरिमा हत्या प्रकरण,चौथो दिन पनि वीरगञ्ज–पथलैया सडक ठप्प

तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा न्यायको माग गर्दै जारी आन्दोलनका कारण वीरगञ्ज–पथलैया सडकखण्ड चौथो दिन शनिबार पनि पूर्ण रूपमा बन्द रहेको छ।

पीडित परिवारलाई न्याय र दोषीलाई कडा कारबाहीको माग गर्दै स्थानीयवासीले जितपुरसिमरा उपमहानगरपालिका–स्थित सिमरामा सडककै बीचमा टेन्ट राखेर धर्ना तथा प्रदर्शन गरिरहेका छन्। आन्दोलनका कारण मुख्य राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा प्रभावित भएको छ।

यसअघि बिहीबार राति स्थानीय प्रशासन, राजनीतिक दलका प्रतिनिधि तथा जनप्रतिनिधिको उपस्थितिमा पाँचबुँदे सहमति भएको थियो। इलाका प्रहरी कार्यालय सिमराका प्रमुख डीएसपी दिलीप क्षेत्रीको सरुवालगायत माग सम्बोधन गर्ने सहमति भए पनि मृतक बालिकाको परिवारले मध्यरातमा गरिएको उक्त सम्झौता आफूहरूलाई मान्य नभएको जनाएको छ।

परिवारले सहमति अस्वीकार गरेपछि जितपुरसिमरासहित बाराका विभिन्न स्थानबाट स्थानीयवासी सडकमा उत्रिएका छन्। उनीहरूले दोषीमाथि कडा कानुनी कारबाही र न्यायको सुनिश्चितता नभएसम्म आन्दोलन नरोक्ने बताएका छन्।

बालिका गरिमाको शव अझै कलैया अस्पतालमै रहेको छ। आन्दोलनका कारण वीरगञ्ज–पथलैया सडकखण्डमा सवारीसाधनको लामो लाइन लागेको छ भने यात्रु तथा सर्वसाधारणको आवागमनमा ठूलो समस्या भएको छ।

Back To Top
Modern Footer Design