काठमाडौं । संघीय संसद्अन्तर्गत आज पाँच वटा संसदीय समितिका बैठक बस्दैछन् ।
बैठकहरूमा पर्यटन विधेयकदेखि मानव–वन्यजन्तु द्वन्द्व, पूर्वाधार विकास, पशु रोग नियन्त्रण तथा खर्क नीतिसम्मका विषयमा छलफल हुने कार्यसूची छ । सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका बैठक बस्न लागेका हुन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा ‘पर्यटन विधेयक, २०८१’ का विषयमा नेपाल पर्वतारोहण संघलगायत सम्बन्धित सरोकारवाला निकायसँग छलफल गर्ने कार्यसूची रहेको छ । त्यस्तै, कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ९ः३० बजे बस्नेछ । उक्त बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा गठित मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदलले तयार पारेको प्राविधिक प्रतिवेदनमाथि छलफल गरिनेछ ।
पूर्वाधार विकास समितिको बैठक बिहान १० बजे बस्नेछ । बैठकमा पूर्वाधार विकास तथा सार्वजनिक–निजी साझेदारी (पीपीपी) सम्बन्धी विषयमा छलफल हुने बताइएको छ । विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेछ । उक्त बैठकमा ‘संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ । यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो २ बजे बस्नेछ । बैठकमा विषय विज्ञ धनप्रसाद लामिछानेसँग खर्क नीतिका विषयमा छलफल गरिनेछ ।
