विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।
सोमबार प्रदेशसभामा भएको मतदानमा उनको पक्षमा ५७ मत परेको हो । मुख्यमन्त्री कार्कीलाई नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका प्रदेशसभा सदस्यहरूले समर्थन गरेका थिए । कोशी प्रदेशसभामा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ जना सदस्य रहेकामा दुवै दलका सबै सदस्यले कार्कीको पक्षमा मतदान गरेका हुन् ।
मुख्यमन्त्री कार्कीको विपक्षमा नेपाली कांग्रेसका २२ जना प्रदेशसभा सदस्यले मतदान गरे । कांग्रेसका प्रदेशसभामा २९ सदस्य रहे पनि सबै मतदानमा सहभागी भएनन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सभामुखसहित पाँच जना प्रदेशसभा सदस्यले मतदानमा भाग लिएनन् । जनता समाजवादी पार्टी (जसपा) की एक्ली प्रदेशसभा सदस्य निर्मला लिम्बु पनि बैठकमा अनुपस्थित रहिन् । ९३ सदस्यीय कोशी प्रदेशसभामा एक जना सदस्यले राजीनामा दिएपछि हाल ९२ सदस्य कायम छन् । सोमबारको बैठकमा भने ८३ जना प्रदेशसभा सदस्य उपस्थित थिए । विश्वासको मत पाएसँगै मुख्यमन्त्री कार्की नेतृत्वको प्रदेश सरकारलाई प्रदेशसभाको समर्थन कायम भएको छ।
