काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क राईले प्रधानमन्त्री वालेन शाहको निजी भ्रमणप्रति प्रश्न उठाउँदै त्यसबारे संसद्मा स्पष्ट जानकारी दिन माग गरेका छन् ।
उनले प्रधानमन्त्रीको भ्रमण पूर्ण रूपमा निजी हुन नसक्ने दाबी गर्दै भ्रमणको उद्देश्यबारे सदनलाई जानकारी गराउनुपर्ने बताएका हुन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीसँग सरकारी सुरक्षा संयन्त्रसमेत परिचालित हुने भएकाले भ्रमणलाई निजी भनेर मात्र पन्छाउन नमिल्ने बताए । उनले प्रधानमन्त्रीलाई व्यंग्यात्मक शैलीमा ‘के खान जानुभएको हो ?’ भन्दै भ्रमणको उद्देश्यबारे प्रश्न गरेका छन् ।
राईले विपद्का कारण मुलुक प्रभावित भइरहेका बेला सुनसरीको बराहक्षेत्र क्षेत्रमा कोशी नदीको कटानबाट ठूलो मात्रामा खेतीयोग्य जमिन नष्ट भइरहेको भन्दै तत्काल नियन्त्रणका उपाय अपनाउन सरकारको ध्यानाकर्षण गराए । उनले कोशी ब्यारेजका ढोकाहरू समयमै नखोल्दा बाढीको जोखिम बढ्ने गरेको दाबी गर्दै त्यसबारे आवश्यक कदम चाल्न सरकारसँग माग गरे । सप्तकोशीका कारण प्रत्येक वर्ष खेतीयोग्य जमिन डुबान र कटानमा पर्ने अवस्था अन्त्य गर्न दीर्घकालीन समाधान खोज्नुपर्ने उनको भनाइ छ ।
त्यस्तै, सांसद राईले कानुनी कमजोरीको फाइदा उठाउँदै अपराधमा संलग्न व्यक्तिहरू खुलेआम हिँड्ने अवस्था अन्त्य गर्नुपर्ने बताए । विशेषगरी नाबालिकामाथि हुने बलात्कार तथा हत्याका घटनाप्रति राज्य गम्भीर बन्नुपर्ने भन्दै उनले बलात्कारसम्बन्धी कानुनी व्यवस्था थप स्पष्ट र प्रभावकारी बनाउन माग गरे । उनले बलात्कार तथा जघन्य अपराधमा दोषी ठहर भएका व्यक्तिलाई कडा सजायको व्यवस्था गरी पीडितलाई न्याय दिलाउन सरकार गम्भीर भएर अघि बढ्नुपर्ने बताए।
