नयाँ ईडीएल प्रणालीले यातायात सेवा प्रभावित, लाइसेन्स बनाउनेदेखि नवीकरणसम्म सेवाग्राहीलाई सास्ती

काठमाडौँ । यातायात व्यवस्था विभागले साउन १ गतेदेखि लागू गरेको नयाँ ‘ईडीएल’ प्रणाली प्रभावकारी बन्न नसक्दा देशभरका यातायात कार्यालयमा सेवाग्राहीले विभिन्न समस्या झेल्नुपरेको छ।

सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउने उद्देश्यले सुरु गरिएको प्रणालीमा अनलाइन फाराम भर्नेदेखि ओटीपी प्राप्त गर्ने, राजस्व बुझाउने र बायोमेट्रिक प्रक्रियासम्म समस्या देखिएको छ। कतिपय सेवाग्राहीले लामो समय कुर्दा पनि लाइसेन्ससम्बन्धी प्रक्रिया अघि बढाउन नसकेको गुनासो गरेका छन्।

नयाँ प्रणालीमा सबैभन्दा बढी समस्या ओटीपी सेवामा देखिएको छ। फाराम भर्दा मोबाइलमा ओटीपी नआउने भएपछि मेडिकल तथा ट्रायलको प्रक्रिया अघि बढाउन समस्या भएको सेवाग्राहीको भनाइ छ। कार्यालय पुगेपछि पनि कर्मचारीले प्रणालीमै समस्या देखिएको भन्दै तत्काल समाधान गर्न नसक्ने अवस्था रहेको बताइएको छ।

त्यस्तै, राष्ट्रिय परिचयपत्रसँग प्रणालीको लिंकअप प्रभावकारी नहुँदा कतिपय सेवाग्राहीलाई पुनः कार्यालयमै पुगेर फोटो तथा बायोमेट्रिक दिनुपर्ने बाध्यता छ। डाटा माइग्रेसनका क्रममा विवरण नमिल्ने समस्या पनि देखिएको छ। स्कुटरका लागि आवेदन दिँदा मोटरसाइकलको वर्ग देखिने तथा नागरिकता वा एनआईडी नम्बरमा त्रुटि भए सच्याउने पर्याप्त विकल्प नहुँदा सेवाग्राही थप समस्यामा परेका छन्।

राजस्व भुक्तानीमा समेत समस्या देखिएको छ। रकम काटिए पनि प्रणालीमा भुक्तानीको विवरण नदेखिने वा कारोबार मिति नआउने कारण सेवाग्राहीले पैसा तिरेर पनि सेवा लिन नसक्ने अवस्था सिर्जना भएको कार्यालयका कर्मचारीले बताएका छन्।

कर्मचारीहरूको भूमिकासम्बन्धी व्यवस्थामा समेत कमजोरी रहेको गुनासो छ। विभिन्न कामका लागि छुट्टाछुट्टै अधिकार दिनुपर्नेमा एउटै भूमिकामार्फत धेरै अधिकार दिइएको र यसबारे डेभलपर टोलीलाई जानकारी गराउँदा पनि सुधारमा अपेक्षित प्रगति नभएको कर्मचारीहरूको भनाइ छ।

विशेषगरी काठमाडौँ र बागमती प्रदेशका यातायात कार्यालयमा सेवाग्राहीको चाप बढेको छ। विभागले यसअघि नै सिस्टम अपग्रेड तथा डाटा माइग्रेसनका कारण केही समय सेवा प्रभावित हुन सक्ने जनाएको थियो। तर समस्या लामो समयसम्म समाधान नहुँदा सेवाग्राहीको सास्ती कायमै रहेको छ।

सफ्टवेयरमा देखिने प्राविधिक त्रुटि सर्वसाधारणले बुझ्न नसक्ने अवस्था रहेको कर्मचारीहरू बताउँछन्। समस्या पर्दा सपोर्ट टिमबाट समेत प्रभावकारी सहयोग नपाउने गुनासो छ। प्रणालीमा देखिएका समस्याबारे विभागका महानिर्देशक राजीव पोखरेलसँग प्रतिक्रिया लिन खोजिए पनि उनी सम्पर्कमा नआएको बताइएको छ।

Back To Top
Modern Footer Design