तीन पत्रकारलाई मुद्दा टुंगो नलागेसम्म हिरासतमा राख्न आदेश

काठमाडौँ। बङ्गलादेशको विशेष न्यायाधिकरणले सन् २०२४ को विद्यार्थी आन्दोलनसँग जोडिएको मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा तीन पत्रकारलाई मुद्दाको अन्तिम फैसला नभएसम्म हिरासतमा राख्न आदेश दिएको छ।

न्यायाधिकरणले एकट्टोर टेलिभिजनका प्रधान सम्पादक मोजाम्मेल बाबु, प्रमुख संवाददाता फरजाना रूपा तथा दैनिक भोरेर कागोजका सम्पादक एवं नेसनल प्रेस क्लबका पूर्व महासचिव श्यामल दत्तलाई हिरासतमा राख्न आदेश दिएको हो। उनीहरू सोमबार न्यायाधिकरणमा उपस्थित भएका थिए।

न्यायाधीशले आगामी सुनुवाइ अक्टोबर २५ मा तोक्दै अनुसन्धान प्रतिवेदन पेस गर्न निर्देशन दिएका छन्। अभियोजन पक्षले तीनै पत्रकारले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई विद्यार्थी प्रदर्शनकारीमाथि दमन गर्न उक्साएको आरोप लगाएको छ। उनीहरूले जुलाई १४, २०२४ मा आयोजित पत्रकार सम्मेलनमा प्रदर्शनकारीबारे उत्तेजक प्रश्न सोधेको र त्यसपछि हसिनाले प्रदर्शनकारीप्रति आपत्तिजनक टिप्पणी गरेको अभियोजन पक्षको दाबी छ।

तीन पत्रकारको पक्राउ र जमानत अस्वीकारप्रति अन्तर्राष्ट्रिय मानव अधिकार तथा प्रेस स्वतन्त्रता संस्थाहरूले आपत्ति जनाएका छन्। कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (सीपीजे) ले पत्रकार सम्मेलनमा प्रश्न सोधेकै आधारमा मानवताविरुद्धको अपराधको मुद्दा चलाउनु गम्भीर विषय भएको भन्दै उनीहरूलाई तत्काल रिहा गर्न आग्रह गरेको छ।

सन् २०२४ को जुलाई–अगस्टमा बङ्गलादेशमा भएको विद्यार्थी आन्दोलनका क्रममा सयौँ मानिसको मृत्यु भएको थियो। आन्दोलन चर्किएपछि हसिना अगस्ट ५, २०२४ मा भारत पुगेकी थिइन्। उनीविरुद्ध मानवताविरुद्धको अपराधको आरोपमा अनुपस्थितिमै मुद्दा चलाइएको थियो।

हसिनाको बहिर्गमनपछि नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा बनेको अन्तरिम सरकारले तीनै पत्रकारलाई पक्राउ गरेको थियो। उनीहरूमाथि आन्दोलनका क्रममा भएको हिंसा तथा हत्यासहित विभिन्न आरोपमा मुद्दा चलिरहेको छ। परिवारले भने उनीहरूलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गरेका छन्।

यसैबीच भारतमा रहेकी हसिनाले आगामी डिसेम्बरमा बङ्गलादेश फर्कने बताएकी छन्। बङ्गलादेश सरकारले उनलाई सुपुर्दगी गर्न भारतसँग आग्रह गरे पनि भारतले उक्त आग्रह अस्वीकार गरेको छ।

Back To Top
Modern Footer Design