काठमाडौं । भियतनाममा आयोजना हुने पिकलबल विश्वकपका लागि नेपालले पहिलोपटक राष्ट्रिय टोली घोषणा गरेको छ।
नेपालले १९ देखि ४९ वर्षसम्मको ओपन क्याटगरी तथा ५० वर्षमाथिको सिनियर क्याटगरीमा प्रतिस्पर्धा गर्नेछ। पिकलबल एसोसिएसन नेपालले मंगलबार नक्सालमा पत्रकार सम्मेलन गरी विश्वकपमा सहभागी हुने नेपाली खेलाडीको नाम सार्वजनिक गरेको हो। प्रतियोगिता अगस्ट ३० देखि सेप्टेम्बर ६ सम्म भियतनामको दा नाङमा आयोजना हुँदैछ। सिनियर क्याटगरीमा हर्षसागर तुलाधर, मणिकरत्न शाक्य, दिलभूषण पाठक, फत्तेबहादुर खड्का, शर्मिला केसी र प्रतिमा प्रधान रहेका छन्।
त्यस्तै, ओपन क्याटगरीमा ज्याक्सन सुवेदी, सन्देश श्रेष्ठ, उमिद शेर्पा, उगेन शेर्पा, दावा शेर्पा, राधेश्याम मचामसी, महेश शर्मा, सरुसा मगर, डा. दीक्षा राना, सञ्जील कंसाकार र किरण खनाल छनोट भएका छन्। एसोसिएसन नेपालका अध्यक्ष सौरभ भण्डारीले करिब पाँच वर्षको निरन्तर प्रयासपछि नेपाल पहिलोपटक पिकलबल विश्वकपमा सहभागी हुन लागेको बताए। उनले नेपाली खेलाडीले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको क्षमता प्रदर्शन गर्दै पदक जित्ने विश्वास व्यक्त गरे।
विश्वकपमा नेपालसहित विभिन्न देशका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको कुल पुरस्कार राशि ५ लाख अमेरिकी डलर रहेको आयोजकले जनाएको छ। पिकलबल टेनिस, ब्याडमिन्टन र टेबल टेनिसका केही विशेषता समेटिएको र्याकेट खेल हो। हल्का प्लास्टिकको प्वाल भएको बल र प्याडल प्रयोग गरिने यो खेल टेनिसभन्दा सानो कोर्टमा खेलिन्छ। एकल वा दुई–दुई जनाको टोली बनाएर खेल्न सकिने भएकाले पछिल्लो समय पिकलबलको लोकप्रियता बढ्दै गएको छ। यसपटकको विश्वकपमा ८१ देशका १५६ टोलीसहित पाँच हजारभन्दा बढी खेलाडी सहभागी हुने आयोजकले जनाएको छ।
