काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण जोखिममा परेका तथा घाइते नागरिकको आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार गरिने भएको छ।
नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरबाट उद्धार गरिने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। उद्धार गरिएका घाइतेलाई सुरुमा रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा बनाइएको उपचार केन्द्रमा राखिनेछ। गम्भीर घाइतेलाई भने अवस्था हेरेर तत्काल काठमाडौं ल्याउने तयारी गरिएको छ। घाइतेको अवस्थाअनुसार प्राथमिकता निर्धारण गरी उद्धार तथा उपचार गरिनेछ। यस्तै, बाढी प्रभावितका लागि आवश्यक राहत सामग्री स्थलमार्ग हुँदै विदुरस्थित नेपाली सेनाको ब्यारेकतर्फ पठाउन थालिएको छ।
