दसैंको अग्रिम टिकटबारे मंगलबार यातायात व्यवसायीसँग छलफल

काठमाडौं । दसैं नजिकिँदै गए पनि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङबारे स्पष्ट निर्णय नहुँदा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रु अन्योलमा परेका छन्।

यसै विषयमा यातायात व्यवस्था विभागले मंगलबार यातायात व्यवसायी तथा सरोकारवाला निकायसँग छलफल गर्ने भएको छ। विभागले मंगलबार बिहान दसैंका लागि अग्रिम टिकट बुकिङको व्यवस्था, यात्रुको चाप तथा यातायात व्यवस्थापनलगायत विषयमा छलफल गर्न बैठक बोलाएको हो। टिकट बुकिङ औपचारिक रूपमा खुल्ने विषय टुंगो नलाग्दा यात्रुमा अन्योल देखिएको छ। यद्यपि केही यातायात कम्पनीले भने अनलाइनमार्फत अग्रिम टिकट बिक्री सुरु गरिसकेका छन्। कम्पनीपिच्छे फरक–फरक ढंगले टिकट बुकिङ भइरहेकाले यात्रुहरू थप अन्योलमा परेको अवस्था छ।

हरेक वर्ष दसैंका बेला राजधानीबाट ठूलो संख्यामा यात्रु बाहिरिने गरेका छन्। अग्रिम टिकट सहज रूपमा उपलब्ध नहुँदा यात्रुले टिकट नपाउने, बसपार्कमा घण्टौँ लाइन बस्नुपर्ने तथा यात्राका क्रममा विभिन्न समस्या झेल्नुपर्ने अवस्था यसपटक पनि दोहोरिने चिन्ता बढेको छ। यही विषयलाई व्यवस्थित गर्न विभागले सम्बन्धित सुरक्षा निकाय, यातायात व्यवसायी तथा मजदुर संगठनका प्रतिनिधिलाई बैठकमा बोलाएको हो।

बैठकमा प्रहरी प्रधान कार्यालयअन्तर्गत राजमार्ग तथा सुरक्षा महाशाखा, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित विभिन्न यातायात मजदुर संगठनका प्रतिनिधि सहभागी हुनेछन्। ल्होत्से बहुउद्देश्यीय सहकारी संघलाई समेत छलफलमा आमन्त्रण गरिएको छ। यस वर्षको दसैं अवधिमा १० लाखभन्दा बढी यात्रुले काठमाडौं उपत्यका छाड्ने अनुमान गरिएको छ। यात्रुको ठूलो चापलाई ध्यानमा राख्दै अग्रिम टिकट बुकिङ, यातायात सञ्चालन तथा सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन मंगलबारको छलफललाई महत्वपूर्ण रूपमा हेरिएको छ।

Back To Top
Modern Footer Design