पार्टीको भावी दिशा तय गर्न गगन थापाले अघि सारे तीन प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आगामी राजनीतिक तथा सांगठनिक दिशा स्पष्ट गर्न तीन वटा महत्वपूर्ण प्रस्ताव अघि सारेका छन्।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोमबार जारी बन्दसत्रमा प्रस्तुत राजनीतिक प्रतिवेदनमार्फत थापाले पार्टीले अब आफ्नो भूमिका र विगतका कमजोरीबारे गम्भीर समीक्षा गर्नुपर्नेमा जोड दिएका हुन्। थापाले नेपाली कांग्रेस निर्वाचन जितेर सरकार बनाउने वा गठबन्धन व्यवस्थापन गर्ने दलमा मात्र सीमित हुन नहुने बताएका छन्। उनका अनुसार कांग्रेसको भूमिका राष्ट्रिय शक्ति तथा लोकतान्त्रिक व्यवस्थाको नेतृत्वदायी शक्तिका रूपमा स्थापित हुनुपर्छ। गठबन्धन मिलाउने र पद बाँडफाँटमै राजनीति सीमित भए पार्टीले आफ्नो मूल राजनीतिक जिम्मेवारी पूरा गर्न नसक्ने उनको निष्कर्ष छ।

उनले पार्टीको विगत दुई दशकको यात्रालाई पनि नयाँ ढंगले मूल्यांकन गर्नुपर्ने प्रस्ताव गरेका छन्। विशेषगरी २०६२/६३ देखि २०८२ सम्मको अवधिमा कांग्रेसले हासिल गरेका उपलब्धि र गरेका कमजोरी दुवैलाई निष्पक्ष रूपमा केलाउनुपर्ने उनको भनाइ छ। संविधान निर्माणपछिको दशकलाई अरू राजनीतिक शक्तिको कमजोरीका रूपमा मात्र हेर्न नहुने थापाले बताएका छन्। त्यस अवधिमा कांग्रेस आफैंले तय गरेका राजनीतिक उद्देश्य र व्यवहारबीच दूरी बढेको उनको समीक्षा छ। पार्टीले जनताको अपेक्षा र उद्देश्यभन्दा पद तथा सत्तालाई प्राथमिकता दिँदा नागरिकसँगको विश्वास कमजोर बनेको भन्दै उनले निर्वाचनमा भएको पराजयको कारण खोज्दा आफ्नै भूमिकाको पनि समीक्षा आवश्यक रहेको बताएका छन्।

थापाले लोकतन्त्रप्रति नागरिकमा देखिएको असन्तुष्टिलाई पनि गम्भीर रूपमा लिनुपर्ने बताएका छन्। लोकतन्त्रको विकल्प अझ कम लोकतन्त्र नभई अझ गहिरो, प्रभावकारी र परिणाममुखी लोकतन्त्र हुनुपर्ने उनको प्रस्ताव छ। उनका अनुसार देशभित्र र बाहिर रहेका लोकतान्त्रिक संस्थाको ढिलासुस्ती, राजनीतिक दलप्रतिको असन्तुष्टि तथा सीमित स्वार्थप्रति बढेको आक्रोशलाई संस्थागत सुधारको मागका रूपमा बुझ्न आवश्यक छ। तर त्यसको समाधानका नाममा कुनै एक व्यक्तिको इच्छाशक्तिलाई संस्थाभन्दा माथि राख्ने वा पुराना संरचना एकैपटक भत्काउने अवधारणालाई विकल्पका रूपमा अघि सार्न नहुने थापाको धारणा छ।

नागरिकमा देखिएको आक्रोशका कारणप्रति आफूहरू जानकार रहेको र त्यसमा कांग्रेसले आफ्नो जिम्मेवारी स्वीकार गर्नुपर्ने उनले बताएका छन्। तर नागरिकका अधिकार र लोकतान्त्रिक संस्थाको स्वतन्त्रता कमजोर पार्ने कुनै पनि निष्कर्ष भने स्वीकार गर्न नसकिने उनको स्पष्ट धारणा छ। यसरी थापाले अघि सारेका तीन प्रस्तावमा कांग्रेसको राष्ट्रिय भूमिकाको पुनःपरिभाषा, विगत दुई दशकको आत्मसमीक्षा र लोकतन्त्रलाई थप सुदृढ तथा परिणाममुखी बनाउने विषयलाई प्राथमिकतामा राखिएको छ।

Back To Top
Modern Footer Design