हालान्डको तहल्का, विश्वकपमा नर्वेको ऐतिहासिक पुनरागमन

अमेरिका । २८ वर्षको लामो प्रतीक्षापछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले विजयी सुरुवात गरेको छ। समूह ‘आई’ अन्तर्गत बुधबार बिहान अमेरिकाको बोस्टन स्टेडियममा भएको खेलमा नर्वेले इराकलाई ४–१ गोलअन्तरले पराजित गर्दै महत्वपूर्ण तीन अंक हात पारेको हो।

नर्वेको जितमा स्टार फरवार्ड एर्लिङ हालान्डले दुई गोल गर्दै टोलीको आक्रमणको नेतृत्व गरे। यस्तै लियो ओस्टिगार्डले एक गोल थप्दा नर्वेले एक गोल आत्मघाती उपहारका रूपमा पाएको थियो। इराकका आयमन हुसेनले टोलीका लागि एकमात्र सान्त्वना गोल गरे। खेलको २९औं मिनेटमा हालान्डले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए। तर १० मिनेटपछि हुसेनले गोल फर्काउँदै इराकलाई खेलमा बराबरीमा ल्याए। पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेलाई पुनः अग्रता दिलाए। दोस्रो हाफमा नर्वेले खेलमाथि नियन्त्रण कायम राख्यो। ७६औं मिनेटमा ओस्टिगार्डले हेडमार्फत गोल गर्दै टोलीको अग्रता ३–१ मा पुर्‍याए। इन्जुरी समयको अन्त्यतिर इराकका

खेलाडीको दुर्भाग्यपूर्ण आत्मघाती गोलपछि नर्वेले ४–१ को सहज जित सुनिश्चित गर्‍यो।यस जितसँगै नर्वे तीन अंकसहित समूह ‘आई’ को शीर्ष स्थानमा उक्लिएको छ। समान तीन अंक भए पनि गोलअन्तरमा पछि पर्दै फ्रान्स दोस्रो स्थानमा रहेको छ। पहिलो खेलमा पराजित भएका इराक र सेनेगल भने अंकविहीन छन्। नर्वेले यसअघि सन् १९९८ मा विश्वकप खेलेको थियो। त्यसयता लगातार छनोट हुन नसकेको नर्वेले यस पटक पुनरागमनलाई जितसँगै स्मरणीय बनाएको छ। एर्लिङ हालान्डको उत्कृष्ट प्रदर्शनले टोलीको आगामी यात्राप्रति समर्थकहरूको आशा अझ बढाएको छ।

Back To Top
Modern Footer Design