काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम र युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवबीच आवश्यक कानुन निर्माण, नीति सुधार तथा आगामी कार्ययोजनाका विषयमा छलफल भएको छ।
बिहीबार भएको भेटमा दुवै मन्त्रीले आ–आफ्नो मन्त्रालयसँग सम्बन्धित कानुनी आवश्यकता, प्राथमिकता र कार्यान्वयनका चुनौतीबारे विचार आदानप्रदान गरेका थिए। छलफलका क्रममा मन्त्री गौतमले कानुन निर्माण प्रक्रियालाई प्रभावकारी बनाउन मन्त्रालयहरूबीच साझा समझदारी आवश्यक रहेको बताइन्। उनले विधेयक निर्माणका लक्ष्यहरू यथार्थपरक, व्यवहारिक र निर्धारित समयभित्र पूरा गर्न सकिने खालका हुनुपर्नेमा जोड दिइन्। उनले कानुन निर्माणको सूची तयार गर्दा कार्यान्वयनयोग्य समयसीमा निर्धारण गर्न र योजनाहरूलाई स्पष्ट रूपमा अघि बढाउन आग्रह गरिन्।
श्रममन्त्री यादवले युवासँग सम्बन्धित बदलिँदा चुनौती तथा रोजगारीका नयाँ आयामलाई सम्बोधन गर्ने कानुन र नीति आवश्यक रहेको बताए। उनले देशभित्र रोजगारीका अवसर विस्तार गर्न विशेष ध्यान दिनुपर्ने धारणा राखे। उनका अनुसार आवश्यक कानुनी व्यवस्था र पर्याप्त बजेट अभावका कारण मन्त्रालयका केही कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेका छैनन्। उनले राष्ट्रिय रोजगारसम्बन्धी स्पष्ट नीति तथा कानुनी आधार तयार गर्नुपर्ने आवश्यकता औंल्याए। मन्त्रालयले हालसम्म तयार भएका विधेयकहरूको प्रगति समीक्षा गर्दै आगामी आर्थिक वर्षका लागि आवश्यक कानुन निर्माणका प्राथमिकता तय गर्न यस्तो छलफल गरिएको जनाएको छ। मन्त्री गौतमले सरकारको सयबुँदे कार्ययोजना कार्यान्वयनलाई सहयोग पुग्ने गरी आवश्यक कानुन निर्माण तथा संशोधनको कामलाई तीव्रता दिन विभिन्न मन्त्रालयसँग निरन्तर समन्वय गरिरहेको बताएकी छन्।
