बोस्टन । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को रोमाञ्चक प्रतिस्पर्धामा मोरक्कोले स्कटल्यान्डलाई १–० ले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थान कब्जा गरेको छ। बोस्टन स्टेडियममा शनिबार बिहान सम्पन्न खेलमा सुरुआतमै गरिएको गोल नै मोरक्कोको जितका लागि निर्णायक बन्यो।
खेलको दोस्रो मिनेटमै इस्माइल साइबारीले ब्राहिम डियाजको उत्कृष्ट पासलाई सदुपयोग गर्दै गोल गरे। उक्त गोलपछि दुवै टोलीले थप अवसर सिर्जना गरे पनि स्कटल्यान्डले बराबरी गोल फर्काउन सकेन भने मोरक्कोले आफ्नो अग्रता जोगाउँदै महत्वपूर्ण तीन अंक हात पार्यो। यस जितसँगै मोरक्कोले दुई खेलबाट चार अंक जोड्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ र नकआउट चरणमा पुग्ने सम्भावना थप बलियो बनाएको छ। मोरक्कोले आफ्नो पहिलो खेलमा ब्राजिलसँग बराबरी खेलेको थियो।
यता, पहिलो खेलमा हाइटीलाई पराजित गरेको स्कटल्यान्ड भने तीन अंकसहित दोस्रो स्थानमा झरेको छ। समूहमा एक खेल खेलेको ब्राजिल एक अंकसहित तेस्रो स्थानमा रहँदा हाइटी अंकविहीन अवस्थामा चौथो स्थानमा छ। ब्राजिल र हाइटीबीचको खेल केही समयपछि हुने तालिका छ। साइबारीको प्रारम्भिक गोलले मोरक्कोलाई महत्वपूर्ण जित दिलाउँदा समूह ‘सी’ को प्रतिस्पर्धा थप रोचक बनेको छ।
