लगातार दोस्रो जितसँगै अमेरिका नकआउट चरणमा

सिएटल । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ मा अमेरिका लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा प्रवेश गरेको छ। सिएटल स्टेडियममा शुक्रबार राति सम्पन्न खेलमा अमेरिकाले अस्ट्रेलियामाथि २–० को सहज जित दर्ता गर्दै अन्तिम ३२ को यात्रा सुनिश्चित गरेको हो।

यस जितसँगै अमेरिकाले दुई खेलबाट शतप्रतिशत ६ अंक जोडेको छ। लगातार दुई जितपछि अमेरिका कम्तीमा उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने टोलीका रूपमा अर्को चरणमा पुग्ने निश्चित भएको छ भने समूहको शीर्ष दुईभित्र रहेर अघि बढ्ने सम्भावना पनि बलियो बनेको छ। खेलमा अमेरिकाले सुरुआती दबाब कायम राख्दै ११औँ मिनेटमै अग्रता लियो। फोलारिन बालोगुनको क्रस क्लियर गर्ने क्रममा अस्ट्रेलियाका डिफेन्डर क्यामरुन बर्गेसबाट आत्मघाती गोल भएपछि अमेरिका १–० ले अघि बढेको थियो। पहिलो हाफ सकिनुअघि ४३औँ मिनेटमा एलेक्स फ्रिम्यानले अर्को गोल थप्दै अमेरिकाको अग्रता दोब्बर बनाए। उनले उत्कृष्ट फिनिसिङमार्फत टोलीलाई थप सहज अवस्थामा पुर्‍याए।

दोस्रो हाफमा अस्ट्रेलियाले खेलमा फर्किने प्रयास गरे पनि अमेरिकी रक्षापंक्तिलाई भेद्न सकेन। केही अवसर सिर्जना गरे तापनि गोल गर्न नसक्दा अस्ट्रेलिया हार स्वीकार्न बाध्य बन्यो।पहिलो खेलमा पाराग्वेलाई पराजित गरेको अमेरिका अहिले समूह ‘डी’ को शीर्ष स्थानमा छ। यता, पहिलो खेलमा जित निकालेको अस्ट्रेलियाको दुई खेलबाट ३ अंक रहेको छ। पाराग्वे र टर्की भने अंकविहीन अवस्थामा छन्। समूहको अर्को खेलमा पाराग्वेले टर्कीसँग अंक खोसेमा वा हार टारेमा अमेरिका शीर्ष दुई स्थानमा रहँदै नकआउट चरणमा पुग्ने औपचारिकता पनि पूरा हुनेछ। संगठित प्रदर्शन, प्रभावकारी आक्रमण र मजबुत रक्षाका कारण अमेरिका यस विश्वकपमा उपाधि दाबेदार टोलीका रूपमा थप मजबुत देखिएको छ।

Back To Top
Modern Footer Design