टोरन्टोमा । डेनिस उन्डाभको प्रेरणादायी दुई गोलको मद्दतमा जर्मनीले आइभरी कोस्टलाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।
समूह ‘इ’ अन्तर्गत आइतबार बिहान टोरन्टोमा भएको प्रतिस्पर्धात्मक खेलमा जर्मनीले पछाडि परेको अवस्था उल्टाउँदै लगातार दोस्रो जित निकालेको हो। यससँगै जर्मनीले दुई खेलबाट ६ अंक जोड्दै एक खेल बाँकी रहँदै अन्तिम १६ मा स्थान पक्का गरेको छ। खेलको ३०औँ मिनेटमा कप्तान फ्रान्क कसीले गोल गर्दै आइभरी कोस्टलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा जर्मनीले केही अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेन। दोस्रो हाफमा प्रशिक्षकको रणनीतिक परिवर्तन निर्णायक बन्यो। ६०औँ मिनेटमा मैदान छिरेका डेनिस उन्डाभले ६८औँ मिनेटमा नादिएम अमिरीको पासमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए।
बराबरीतर्फ अघि बढिरहेको खेलको इन्जुरी समयको चौथो मिनेटमा फेलिक्स एनमेचाको उत्कृष्ट पासलाई सदुपयोग गर्दै उन्डाभले व्यक्तिगत दोस्रो तथा टोलीका लागि विजयी गोल गरे। उनको यो गोलले जर्मनीलाई महत्वपूर्ण तीन अंक दिलायो। खेलभर ५९ प्रतिशत बल नियन्त्रणमा राखेको जर्मनीले १६ पटक प्रहार गर्दा ७ सट लक्ष्यमा राख्न सफल भयो। आइभरी कोस्टले भने केवल दुई सट मात्रै लक्ष्यमा प्रहार गर्न सक्यो। यो हारपछि आइभरी कोस्ट ३ अंकसहित दोस्रो स्थानमा छ। जर्मनीले समूह चरणको अन्तिम खेलमा इक्वेडरको सामना गर्नेछ भने आइभरी कोस्टले कुरासाओसँग प्रतिस्पर्धा गर्नेछ।
