रास्वपाको प्रथम महाधिवेशन आजदेखि भरतपुरमा, नेतृत्व चयनको प्रक्रिया सुरु हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा सुरु हुँदैछ। महाधिवेशनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको पार्टीले जनाएको छ।

उद्घाटन समारोह भरतपुर–१० स्थित गेष्ट हाउस चौरमा आयोजना गरिनेछ। कार्यक्रमका लागि जर्मन प्रविधिमा आधारित आधुनिक डोम निर्माण गरिएको छ, जहाँ हजारौं प्रतिनिधि तथा अतिथिहरू सहभागी हुने अपेक्षा गरिएको छ। महाधिवेशनलाई लक्षित गर्दै भरतपुरका विभिन्न स्थान पार्टीका झण्डा, ब्यानर र स्वागतद्वारले सजाइएका छन्। देशभरका साथै विदेशबाट समेत प्रतिनिधिहरू भरतपुर पुग्ने क्रम जारी छ। पार्टीका शीर्ष नेताहरू समेत चितवन पुगिसकेका छन्। आज दिउँसो हुने उद्घाटन सत्रमा पार्टी सभापति रवि लामिछानेसहित विभिन्न राजनीतिक दलका नेताहरूको उपस्थिति रहने बताइएको छ।

महाधिवेशनको सुरक्षालाई ध्यानमा राख्दै ट्राफिक व्यवस्थापनका विशेष योजना लागू गरिएको छ। सवारी पार्किङका लागि छुट्टाछुट्टै स्थान तोकिएका छन् भने कार्यक्रमस्थल आसपासका केही सडकमा सवारी आवागमनमा अस्थायी प्रतिबन्ध लगाइएको छ। भीड व्यवस्थापन र सुरक्षाका लागि ड्रोनमार्फत निगरानीसमेत गरिनेछ। बन्दसत्र चितवन उद्योग सङ्घको प्रदर्शनी हलमा सञ्चालन हुनेछ। यसअघि देखिएको स्थलसम्बन्धी विवाद समाधान भएपछि हल तयारीको काम सम्पन्न गरिएको आयोजकले जनाएको छ। महाधिवेशनको मुख्य आकर्षण नेतृत्व चयन प्रक्रिया रहनेछ।

रास्वपाले पहिलो पटक विद्युतीय मतदान प्रणाली प्रयोग गर्दै सभापति र ९९ सदस्यीय केन्द्रीय समितिको निर्वाचन गर्ने तयारी गरेको छ। प्रतिनिधिहरूले डिजिटल उपकरणमार्फत उम्मेदवारको नाम र तस्बिर चयन गरेर मतदान गर्न सक्ने व्यवस्था मिलाइएको छ। निर्वाचन कार्यतालिका अनुसार असार ८ गते उम्मेदवारी दर्ता र पहिलो चरणको मतदान हुनेछ। केन्द्रीय सदस्यहरूको चयनपछि उनीहरूबाट पदाधिकारीहरूको निर्वाचन गरिने कार्यक्रम तय गरिएको छ। महाधिवेशनले आगामी कार्यदिशा, संगठन विस्तार र नयाँ नेतृत्व चयनका विषयमा महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।

Back To Top
Modern Footer Design