काठमाडौं । देशभर मनसुनको प्रभाव क्रमशः सक्रिय बन्दै जाँदा कोशी प्रदेशका केही स्थानमा आज भारी वर्षा हुने सम्भावना रहेको छ।
यता लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका केही स्थानमा तातो लहरको जोखिम कायम रहने मौसमविद्ले बताएका छन्।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशमा मनसुनी प्रणाली सक्रिय छ भने अन्य भू–भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव देखिएको छ। अहिले देशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा बदली छ भने तराईका धेरै स्थानमा आंशिक बदली रहेको छ।आज दिउँसो कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। विशेषगरी कोशी प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।मौसमविद्का अनुसार कोशी प्रदेशका उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।
यस्तै बागमती र गण्डकीका केही क्षेत्रमा पनि वर्षा हुने अनुमान गरिएको छ। यता लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तापक्रम बढ्न सक्ने तथा तातो लहरको असर देखिन सक्ने भएकाले अत्यावश्यक कामबाहेक दिउँसोको समयमा बाहिर ननिस्कन सुझाव दिइएको छ। बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा समेत गर्मी बढ्न सक्ने पूर्वानुमान गरिएको छ। आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको क्रम जारी रहने सम्भावना रहेको छ। कोशी प्रदेशका केही तराई क्षेत्र तथा मधेश प्रदेशका एक–दुई स्थानमा चट्याङसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। मौसमविद्ले भारी वर्षा, चट्याङ र तातो लहरको जोखिम रहेका क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन तथा मौसमसम्बन्धी अद्यावधिक सूचनामा ध्यान दिन आग्रह गरेका छन्।