आज अन्तर्राष्ट्रिय योग दिवस, ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ नारासहित विविध कार्यक्रम

काठमाडौं । ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने मूल नाराका साथ आज नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै छ। योगको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरिएका छन्।

हरेक वर्ष जुन २१ मा मनाइने अन्तर्राष्ट्रिय योग दिवस संयुक्त राष्ट्रसंघको सन् २०१४ को महासभा निर्णयपछि सन् २०१५ देखि औपचारिक रूपमा सुरु गरिएको हो। योगलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको प्रस्तावलाई नेपालसहित १७७ देशले समर्थन गरेका थिए, जुन संयुक्त राष्ट्रसंघको इतिहासमै छोटो अवधिमा व्यापक समर्थन प्राप्त प्रस्तावमध्ये एक मानिन्छ। योग दिवसको अवधारणा अघि सार्ने श्रेय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दिइन्छ। उक्त प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन जनाएका थिए। नेपालमा भने अन्तर्राष्ट्रिय योग दिवस घोषणा हुनुअघि नै योग प्रवर्द्धनका गतिविधि सञ्चालन हुँदै आएका थिए। विसं २०३६ देखि माघ १ गतेलाई योग दिवसका रूपमा मनाउने परम्परा सुरु भएको थियो। पछि सरकारले विसं २०७२ मा माघ १ लाई राष्ट्रिय योग दिवसका रूपमा औपचारिक मान्यता दिएको थियो।

विशेषज्ञहरूका अनुसार योग केवल शारीरिक अभ्यास मात्र नभई मानसिक शान्ति, आत्मअनुशासन र स्वस्थ जीवनशैलीको आधार पनि हो। आधुनिक जीवनशैलीका कारण बढिरहेका तनाव, चिन्ता तथा विभिन्न स्वास्थ्य समस्याबाट बच्न योग प्रभावकारी माध्यम बन्न सक्ने उनीहरूको भनाइ छ। अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आज बिहान राष्ट्रिय खेलकुद परिषद् परिसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा योग अभ्यास, योगासन प्रदर्शन तथा योगको महत्वबारे जानकारीमूलक सत्र सञ्चालन गरिने जनाइएको छ। विभिन्न क्षेत्रका योग साधक, प्रशिक्षक र सर्वसाधारणको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। योग अभियन्ताहरूले स्वस्थ जीवनका लागि योगलाई दैनिक जीवनको अभिन्न हिस्सा बनाउनुपर्नेमा जोड दिएका छन्। उनीहरूका अनुसार रोग लागेपछि उपचार खोज्नुभन्दा रोग लाग्नै नदिन योग र ध्यानलाई जीवनशैलीमा समावेश गर्नु आवश्यक छ।

Back To Top
Modern Footer Design