नयाँ क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि परिचालन गर्‍यो

काठमाडौँ । नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनलाई लक्षित गर्दै नयाँ क्रियाशील सदस्यता वितरण अभियान प्रभावकारी बनाउन देशका सबै ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ।

पार्टीले सदस्यता वितरण प्रक्रियालाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन प्रतिनिधिहरूलाई सम्बन्धित जिल्लामा असार २० गतेसम्म सक्रिय रूपमा खटिन निर्देशन दिएको जनाएको छ। कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार नयाँ सदस्यता वितरणका क्रममा विशेषगरी ३५ वर्षमुनिका युवाको सहभागिता र प्रतिनिधित्व बढाउन जोड दिइएको छ।

उनले जारी गरेको निर्देशनमा तोकिएका केन्द्रीय प्रतिनिधिहरूले असार ७ गतेदेखि २० गतेसम्म सम्बन्धित जिल्लामा उपस्थित भई सदस्यता वितरण प्रक्रियाको समन्वय, सहजीकरण तथा आवश्यक जिम्मेवारी पूरा गर्ने उल्लेख गरिएको छ।पार्टीले युवाहरूलाई संगठनमा आकर्षित गर्दै नेतृत्व विकासको आधार तयार गर्ने उद्देश्यले सदस्यता अभियानमा युवा सहभागितालाई प्राथमिकता दिएको जनाएको छ। साथै महाधिवेशनको तयारीलाई व्यवस्थित बनाउन सदस्यता वितरण अभियानलाई विशेष महत्वका साथ अघि बढाइएको कांग्रेसको भनाइ छ।

Back To Top
Modern Footer Design