काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन सम्पन्न हुनुअघि नै प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन शाह काठमाडौँ फर्किएका छन्।
श्रीमती र छोरीसहित असार ७ गते चितवन पुगेका शाह बुधबार बुद्ध एयरको उडानमार्फत राजधानी फर्किएका हुन्। उनीसँगै सचिवालयका केही सदस्य पनि काठमाडौं आएका छन्। महाधिवेशनको उद्घाटन सत्रमा असार ७ गते सहभागी भएका शाहले त्यसपछिको समय चितवन राष्ट्रिय निकुञ्ज र सौराहा क्षेत्रको भ्रमणमा बिताएका थिए। उनी असार ९ गते साँझ मात्रै बन्दसत्रमा उपस्थित भएका थिए।
बन्दसत्रमा करिब डेढ घण्टा सहभागी भएका शाहले पार्टी सभापति पदका उम्मेदवार रवि लामिछानेको प्रस्तावकको भूमिका समेत निर्वाह गरेका थिए। चितवन बसाइका क्रममा शाह कालिका नगरपालिका–९ शक्तिखोरस्थित लटौली सेन्चुरी रिसोर्टमा बसेका थिए। सोही रिसोर्टमा खिचिएको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दै उनले ‘भिजिट चितवन, न्यानो ठाउँ’ टिप्पणी गरेका थिए। महाधिवेशनका बाँकी कार्यक्रम जारी रहेकै अवस्थामा प्रधानमन्त्री शाहको काठमाडौं फिर्तीलाई चासोका साथ हेरिएको छ।
