श्रीमतीको मृत्यु प्रकरणमा श्रीमान प्रहरी नियन्त्रणमा

काठमाडौँ । गुल्मीको इस्मा गाउँपालिका–५ रातामाटामा श्रीमानको कुटपिटबाट एक महिलाको ज्यान गएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले उनका श्रीमानलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार ४१ वर्षीय यमबहादुर कुमालले आफ्नी ३७ वर्षीया श्रीमती मुना कुमालमाथि दाउराको चिर्पट प्रयोग गरी आक्रमण गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएकी मुना अचेत अवस्थामा पुगेकी थिइन्। घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट धनार्जेबाट खटिएको प्रहरी टोलीले उनलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल तम्घास पठाएको थियो। तर उपचारकै क्रममा बुधबार बिहान चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

प्रहरीले घटनापछि यमबहादुर कुमाललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक विवेक घलेको नेतृत्वमा थप अनुसन्धान भइरहेको जनाइएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा आरोपीले मदिरा सेवन गरेको अवस्थामा श्रीमतीमाथि कुटपिट गरेको खुल्न आएको प्रहरीले जनाएको छ। घटनाको वास्तविक कारण र अन्य पक्षबारे विस्तृत अनुसन्धान जारी रहेको छ।

Back To Top
Modern Footer Design