प्रहरी चारित्रिक प्रमाणपत्रको दोहोरो प्रक्रिया हटाउन युएईसँग नेपालको अनुरोध

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स ९युएई० जाने नेपाली श्रमिकले प्रहरी चारित्रिक प्रमाणपत्र दोहोर्याएर लिनुपर्ने व्यवस्था हटाउन युएई सरकारसँग आग्रह गरेका छन्।

नेपालका लागि युएईका राजदूत अब्दुल्ला सइद मुबारक जारवान अल शामसीसँग भएको भेटवार्ताका क्रममा मन्त्री यादवले यस्तो आग्रह राखेका हुन्। उनले श्रमिकलाई झन्झटमुक्त र सहज सेवा उपलब्ध गराउन दोहोरो प्रक्रिया अन्त्य गर्नुपर्नेमा जोड दिए। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार भेटमा नेपाल–युएई श्रम सम्झौताका प्रावधानको प्रभावकारी कार्यान्वयन, वैदेशिक रोजगारीको लागत घटाउने उपाय, सीप विकास तथा आदानप्रदान र श्रमिकको स्वास्थ्य तथा सुरक्षाका विषयमा पनि छलफल भएको थियो। दुवै पक्षले यी क्षेत्रमा सहकार्यलाई थप मजबुत बनाउने सहमति गरेका छन्।

भेटका क्रममा राजदूत अल शामसीले ईद उल अजहाको अवसरमा १११ जना नेपाली कैदीबन्दीलाई आममाफी प्रदान गरिएको जानकारी गराएका थिए। त्यसप्रति मन्त्री यादवले युएई सरकारप्रति आभार व्यक्त गरेका छन्। राजदूत अल शामसीले नेपालसँग जोडिएका द्विपक्षीय हितका विषयमा आवश्यक समन्वय गर्दै सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

Back To Top
Modern Footer Design