काठमाडौँ। बागमती प्रदेशअन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई असार मसान्तभित्र बचत रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाएको छ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको उपस्थितिमा सम्पन्न छलफलपछि सिभिल सेभिङ एन्ड क्रेडिट, दर्शन बचत तथा ऋण, सुमेरु बचत तथा ऋण, लालीगुँरास बचत तथा ऋण तथा नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारीका साना बचतकर्तालाई रकम फिर्ता गर्ने निर्णय गरिएको हो। समिति सदस्य रामेश्वर ढकालका अनुसार असार २७ गतेदेखि बचत फिर्ता वितरण सुरु गर्ने तयारी भइरहेको छ। हाल बचतकर्ताको विवरण प्रमाणीकरण गर्ने कार्य अन्तिम चरणमा पुगेको उनले जानकारी दिए।
समितिले रकम फिर्ताका लागि करिब ९ करोड रुपैयाँको व्यवस्था गरिसकेको जनाएको छ। सम्बन्धित सहकारीका बचतकर्तालाई आवश्यक कागजातसहित अनामनगरस्थित समितिको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ। समितिको निर्णयअनुसार सिभिल, सुमेरु, लालीगुँरास र नेशनल नमोबुद्ध सहकारीका बचतकर्ताले अधिकतम एक लाख रुपैयाँसम्म फिर्ता पाउनेछन्। स्तै, दर्शन बचत तथा ऋण सहकारीका बचतकर्तालाई १० हजार रुपैयाँसम्म उपलब्ध गराइनेछ। यस योजनाबाट करिब तीन हजार साना बचतकर्ता प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ। यसअघि समितिले जेठ २२ गते ती पाँच समस्याग्रस्त सहकारीका ११४ जना ठूला ऋणीको नामावली सार्वजनिक गर्दै उनीहरूलाई सहकारीबाट लिएको ऋण तत्काल भुक्तानी गर्न निर्देशन दिएको थियो।
