प्रधानमन्त्री शाह र एडीबी अध्यक्षबीच विकास साझेदारीबारे छलफल

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह र एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्डाबीच मंगलबार शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा नेपाल र एडीबीबीच करिब छ दशकदेखि कायम विकास साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ।

प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार करिब आधा घण्टा चलेको भेटमा प्रधानमन्त्री शाहले सुशासन, पारदर्शिता र प्रभावकारी सेवा प्रवाहमार्फत मुलुकको विकासलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे। भेटका क्रममा जलविद्युत्, पर्यटन, डिजिटल प्रविधिको विस्तार तथा पर्यटकीय सडक पूर्वाधार विकासका क्षेत्रमा सहकार्य बढाउने विषयमा पनि सकारात्मक संवाद भएको जनाइएको छ।

एडीबी अध्यक्ष कान्डाले नेपालमा विकास सहयोगलाई थप विस्तार गर्न संस्था प्रतिबद्ध रहेको बताउँदै आर्थिक विकास र समृद्धिको यात्रामा एडीबी दीर्घकालीन साझेदारका रूपमा निरन्तर साथ रहने विश्वास व्यक्त गरे। उनले नेपालको आर्थिक सम्भावना, युवा नेतृत्व र सुधारप्रतिको प्रतिबद्धताको प्रशंसा गर्दै ती पक्षले देशको विकासमा सकारात्मक भूमिका खेल्ने विश्वाससमेत व्यक्त गरेका छन्।

Back To Top
Modern Footer Design