काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले बुधबार पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भागमा औसतभन्दा दक्षिणतर्फ तथा पश्चिमी भागमा औसत स्थानकै आसपास रहेकाले देशभर यसको प्रभाव कायम रहेको हो।
हाल देशका अधिकांश क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान छ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। त्यस्तै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थान, मधेस प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा पनि मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ।
महाशाखाका अनुसार पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। साथै मधेस प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना पनि रहेको छ। आज राति पनि देशभर बदली रहने पूर्वानुमान गरिएको छ। मधेस प्रदेशका धेरै स्थान तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागमा व्यापक वर्षा हुन सक्नेछ। यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले मधेस प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही पहाडी तथा तराई क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
