विश्वकपमा मेसीको अर्को ऐतिहासिक उपलब्धि, असिस्टमा नयाँ कीर्तिमानसँगै लगातार ९ खेलमा गोल

अमेरिका। अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप २०२६ मा अर्को ऐतिहासिक उपलब्धि हासिल गरेका छन्।

इजिप्टविरुद्धको प्रिक्वार्टरफाइनल खेलमा एक असिस्ट र एक गोल गर्दै उनले विश्वकप इतिहासका दुई महत्त्वपूर्ण कीर्तिमान आफ्नो नाममा लेखाएका हुन्।३–२ को पुनरागमन जितमा टोलीका लागि निर्णायक भूमिका खेलेका मेसी विश्वकपमा सर्वाधिक ९ असिस्ट गर्ने पहिलो खेलाडी बनेका छन्। यसअघि उनले अर्जेन्टिनी महान् खेलाडी डिएगो म्याराडोनासँग संयुक्त रूपमा ८ असिस्टको कीर्तिमान साझा गरेका थिए। त्यस्तै, मेसी लगातार ६ संस्करणको विश्वकपमा असिस्ट गर्ने पहिलो खेलाडी समेत बनेका छन्। सन् २००६ मा विश्वकपमा डेब्यु गरेका उनले त्यसयता खेलेका सबै विश्वकपमा कम्तीमा एक असिस्ट गरेका छन्। इजिप्टविरुद्ध गोल गर्दै मेसीले आफ्नो अर्को प्रभावशाली कीर्तिमान पनि विस्तार गरेका छन्।

उनले यस विश्वकपका पाँचै खेलमा गोल गरेका छन् भने विश्वकपमा लगातार ९ खेलमा गोल गर्ने एकमात्र खेलाडी बनेका छन्। मेसी विश्वकप इतिहासमा सर्वाधिक खेल खेल्ने खेलाडी पनि हुन्। उनले हालसम्म ६ विश्वकपमा कुल ३१ खेल खेलिसकेका छन्। दोस्रो स्थानमा रहेका पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको नाममा २६ खेल रहेको छ। दुवै खेलाडीले सर्वाधिक ६ संस्करणको विश्वकप खेल्ने कीर्तिमान पनि साझा गरेका छन्। यससँगै मेसीले विश्वकपको नकआउट चरणमा जर्मनीका मिरोस्लाभ क्लोजले बनाएको १४ खेल खेल्ने कीर्तिमान बराबरी गरेका छन्। अर्जेन्टिना क्वार्टरफाइनलमा पुगिसकेकाले उनले यो कीर्तिमान तोड्ने अवसर पनि पाएका छन्।

जारी विश्वकपमा मेसीले आफ्नो गोल संख्या ८ पुर्‍याएका छन्। यससँगै उनी पुनः सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा उक्लिएका छन्। उनका निकट प्रतिस्पर्धी फ्रान्सका किलियन एमबाप्पे र नर्वेका एर्लिङ हालान्डले समान ७–७ गोल गरेका छन्। सन् २०२२ को कतार विश्वकपमा ७ गोल गरेका मेसी अहिले दुई फरक विश्वकपमा सात वा त्योभन्दा बढी गोल गर्ने पहिलो खेलाडीसमेत बनेका छन्। यसबाहेक विश्वकप इतिहासमा सर्वाधिक मिनेट खेल्ने, सबै नकआउट चरणमा गोल गर्ने, किशोर, २० र ३० वर्षको दशकमा गोल गर्ने तथा सबैभन्दा बढी उमेरमा ह्याट्रिक गर्ने लगायतका थुप्रै कीर्तिमान पनि मेसीकै नाममा छन्।

Back To Top
Modern Footer Design