बेल्जियमलाई २–१ ले हराउँदै स्पेन १६ वर्षपछि विश्वकपको सेमिफाइनलमा

काठमाडौं । स्पेनले बेल्जियमलाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। लस एन्जलस स्टेडियममा सम्पन्न क्वार्टरफाइनलमा स्पेनले निर्धारित समयको अन्त्यतिर निर्णायक गोल गर्दै १६ वर्षपछि अन्तिम चारमा पुनरागमन गरेको हो।

स्पेनका लागि खेलको ३०औं मिनेटमा फाबियन रुइजले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर ४१औं मिनेटमा बेल्जियमका चार्ल्स डे केटेलारेले हेडमार्फत गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। खेलको ८८औं मिनेटमा पाउ क्युबार्सीको प्रहार बेल्जियमका गोलकिपरले पूर्ण रूपमा नियन्त्रणमा लिन नसकेपछि रिबाउन्ड बललाई मिकेल मेरिनोले जाली चुमाउँदै स्पेनलाई २–१ को जित दिलाए।

खेलभर बल नियन्त्रणमा स्पष्ट रूपमा हावी रहेको स्पेनले १६ पटक प्रहार गर्दा बेल्जियमले केवल पाँच पटक मात्र आक्रमणको प्रयास गर्न सकेको थियो। सन् २०१० मा विश्वकप जितेको स्पेन त्यसयता अपेक्षित प्रदर्शन गर्न असफल रहँदै आएको थियो। सन् २०१४ मा समूह चरणबाटै बाहिरिएको स्पेन २०१८ र २०२२ मा अन्तिम १६ बाटै प्रतियोगिताबाट बाहिरिएको थियो। यसपटक भने उत्कृष्ट प्रदर्शन गर्दै टोलीले १६ वर्षपछि सेमिफाइनलको यात्रा तय गरेको हो।

विश्वकपमा १७औं सहभागिता जनाइरहेको स्पेनका लागि यो तेस्रो सेमिफाइनल यात्रा हो। यसअघि टोली १९५० र २०१० मा सेमिफाइनल पुगेको थियो। २०१० मा स्पेनले विश्वकपको उपाधि जितेको थियो भने १९५० मा चौथो स्थानमा सीमित भएको थियो। यता, बेल्जियमको विश्वकप यात्रा भने क्वार्टरफाइनलमै टुंगिएको छ। २०१८ मा तेस्रो स्थान हासिल गरेको बेल्जियमले यसपटक अन्तिम चारमा पुग्ने अवसर गुमायो। अब स्पेनले फाइनल प्रवेशका लागि सेमिफाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ।

Back To Top
Modern Footer Design