बागमतीसहित विभिन्न प्रदेशमा आज भारी वर्षाको सम्भावना

काठमाडौं ।मनसुनी प्रणाली सक्रिय रहेकाले आज देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार दिउँसोदेखि रातिसम्म केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ।

दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षा हुन सक्ने सम्भावना छ। यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। रातिको समयमा गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। साथै, कोशी प्रदेशका पहाडी क्षेत्र तथा गण्डकी र लुम्बिनीका तराईका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने अनुमान छ। मौसमविद्का अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी क्षेत्रका धेरै स्थान तथा हिमाली र तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम खालको वर्षा हुने सम्भावना छ।

उच्च हिमाली क्षेत्रमा भने वर्षासँगै हिमपातसमेत हुन सक्ने विभागले उल्लेख गरेको छ। राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका धेरै स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने सम्भावना रहेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। साथै, मनसुनको न्यूनचापीय रेखा औसत अवस्थाभन्दा केही उत्तरतर्फ रहेकाले वर्षाको गतिविधि अझ सक्रिय रहने विभागले जनाएको छ।

Back To Top
Modern Footer Design