काठमाडौं । राजावादी अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएर भक्तपुरस्थित निवाससम्म पुर्याइएको प्रहरीले जनाएको छ। प्रसाईँ पक्राउ परेको भन्ने समाचारप्रति प्रतिक्रिया दिँदै प्रहरीले उनी पक्राउ नपरेको स्पष्ट गरेको हो।
प्रसाईँ आइतबार झापाबाट काठमाडौँ फर्किएपछि विमानस्थलमै सुकुम्बासी समस्या, आत्मदाहका घटना तथा अन्य समसामयिक राष्ट्रिय विषयमा सम्बोधन गर्ने तयारीमा रहेको बताइएको थियो। तर विमानस्थलमा अवतरणलगत्तै काठमाडौँ प्रहरी परिसरको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले त्यसपछि आफ्नै सवारीसाधनमार्फत प्रसाईँलाई भक्तपुरस्थित निवाससम्म पुर्याएर छाडेको जनाएको छ।घटनापछि केही सञ्चारमाध्यममा प्रसाईँ पक्राउ परेको समाचार प्रकाशित भएपछि काठमाडौं प्रहरी परिसरले त्यसको खण्डन गरेको हो। काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईले प्रसाईँलाई पक्राउ नगरिएको स्पष्ट पार्दै विमानस्थल निषेधित क्षेत्र भएकाले त्यहाँ विरोध प्रदर्शन वा सार्वजनिक कार्यक्रम गर्न नमिल्ने बताए।
उनका अनुसार सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सम्भावित प्रदर्शन रोक्नका लागि प्रसाईँलाई विमानस्थलबाट हटाएर घरसम्म पुर्याइएको हो। ‘उहाँलाई पक्राउ गरिएको होइन। निषेधित क्षेत्रमा कार्यक्रम गर्न नपाइने भएकाले सुरक्षा व्यवस्थापनका लागि घरसम्म पुर्याइएको मात्र हो,’ एसपी भट्टराईले बताएका छन्। प्रहरीले विमानस्थललगायत निषेधित क्षेत्रमा कुनै पनि प्रकारका प्रदर्शन वा विरोधका कार्यक्रम गर्न नपाइने व्यवस्था रहेकाले सोहीअनुसार सुरक्षा व्यवस्थापन गरिएको जनाएको छ।
