काठमाडौँ । चलचित्र निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाको मस्तिष्कमा देखिएको ट्युमरको सफल शल्यक्रिया गरिएको छ।
अस्पताल स्रोतका अनुसार स्वास्थ्य परीक्षणका क्रममा मस्तिष्कमा ट्युमर देखिएपछि काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उनको शल्यक्रिया गरिएको हो। शल्यक्रिया वरिष्ठ न्यूरो सर्जन डा। बसन्त पन्तको नेतृत्वमा रहेको चिकित्सक टोलीले गत मंगलबार सम्पन्न गरेको जनाएको छ।शल्यक्रियापछि मस्तिष्कबाट निकालिएको ट्युमरलाई थप परीक्षणका लागि बायोप्सीमा पठाइएको छ। अस्पताल स्रोतका अनुसार शल्यक्रिया सफल भएको छ र हाल निरौलाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ। यद्यपि, बायोप्सीको अन्तिम प्रतिवेदन भने आउन बाँकी रहेको जनाइएको छ। दीपाश्री निरौला नेपाली हास्य तथा चलचित्र क्षेत्रमा करिब तीन दशकदेखि सक्रिय रहँदै आएकी चर्चित कलाकार हुन्।
